काठमाडौं । निवर्तमान सरकारका नेतृत्वकर्ता नेकपा एमाले र नेपाली कांग्रेस दुवै आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन तयार रहेको देखिएका छन् । यसको पुष्टि स्वयं सम्बन्धित दलका नेताहरूले गरेका हुन् ।
जेन–जी आन्दोनलमा अपदस्थ सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा नेकपा एमाले चुनावबाट भाग्नै नसक्ने बताएका हुन् । यद्यपि बदलिँदो परिस्थितिमा गठन भएको वर्तमान सरकारले तयारी नै अघि बढाइसकेको निर्वाचनबारे पार्टीबाट आधिकारिकरूपमा निर्वाचनमा जाने नबताए पनि ज्ञवालीले उक्त खुलासा गरेका हुन् ।
ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने बताए । भक्तपुर जिल्ला कमिटीद्वारा ११औँ राष्ट्रिय महाधिवशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उनले उक्त ठोकुवा गरेका हुन् । एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने र भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
उपमहासचिव ज्ञवालीले भने, ‘एमाले निर्वाचनबाट कहिल्यै भागेन र आगामी दिनमा पनि भाग्दैन । कसले चुनाव गराउँछ भन्ने सरकोरभन्दा पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिन्छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताले निधक्क भएर मतदान गर्नसक्ने अवस्था र वातावरण तयार हुनुपर्छ ।’
निर्वाचनमा जान तयार छौँ : कांग्रेस
त्यसैगरी तत्कालीन अपदस्थ सरकारको सहयात्री नेपाली कांग्रेस पनि आगामी निर्वाचनमा जाने निष्कर्षमा पुगेको छ । कांग्रेस नेत्री पुष्पा भुसालले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्णरूपमा तयार रहेको प्रस्ट पारेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उनले निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
कुनै राजनीतिक दलले सरकारले गर्न लागेको चुनावमा आवश्यक सहयोग भन्नुको अर्थ आफू पनि सहभागी भन्ने नै हुने हो । उनले प्रधानमन्त्रीलाई भनिन्, ‘यो बैठकमा सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा सहभागी हुन हामी तयार छौँ, तर त्यो वातावरण बनाउने जिम्मेवारी सरकारको हो ।’
बैठकमा उनले आफ्नो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय भइसकेको बताएकी थिइन् । ‘हामीले यो अब निर्वाचनबाट मात्रै संविधानले प्राप्त गरेको उपलब्धिलाई प्राप्त गर्नेछ भनेर निर्णय गरेका छौँ’, उनले स्पष्ट पारिन् ।