नसोचिएको आन्दोलनले नसोचिएकै रुपमा विघटन गराएको प्रतिनिधिसभाको निर्वाचनको दिन आउन अब साँढे दुई हिनामात्र बाँकी छ । निर्धारित समयमा नै निर्वाचन भए फागुन २१ मा नै सकिनु पर्दछ । अहिलेसम्मको अवस्था हेर्दा खासगरी नयाँदलका लागि यो समय उत्साहप्रद देखिन्छ । निर्वाचनकै लागि अहिलेसम्म सवासयजति दलहरुले दर्ता गराएका छन् । यद्यपि तिनीहरु विभिन्न रंगरुपका छन् तर, तिनले जस्ता नाम रोजे त्यसलाई मात्रै आधार मान्ने हो भने यो निर्वाचनले देश र नागरिकको वास्तवमा नै कायापलट हुनेछ । दलका नाम नै त्यसरी छानिएका छन् । कतिपयले त निर्वाचनको मेलामा आफ्नो पसल थाप्न वस्तु बिक्री गराउन यो पटक उच्चतहको अभ्यास देखिएको छ । यसलाई नराम्रो भन्न हुँदैन । निर्वाचनको प्रक्रियामा गएर जनताको मत जितेर देशलाई बनाउने उनका अभिलासा स्वागत योग्य नै हुन् तर, विगतले चाहिँ कतिपयदल केवल केही सिटका लागि च्याँखे थाप्ने र केही पद बल्छीमा पार्ने दाउ पनि हुन सक्ने देखिन्छ । यी त दलका कुरा भए । अब सरकारले यति छोटो समयमा निर्वाचनलाई भयरहित बनाउन सक्ला? भन्ने प्रश्न भने सामान्य छैन ।
केही अघिको आन्दोलनमा धेरै हतियार हराएका र लुटिएका भनेर त प्रहरीले नै बताइरहेको छ । ती मध्ये केही मात्रामा मात्र दिनहुँ बरामद भइरहेको समाचार पनि आइरहेका छन् । लुटिएका मध्ये करिब ३५ प्रतिशत हतियार अझै फेला परेका छैनन् भन्ने विवरणहरुले बताउछन् । जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीबन्दीहरुको संख्या ठूलो छ । यो चुनावमा सबभन्दा बढी त्रासको विषय पनि यही हो । सार्वजनिक र निजी सम्पत्ति लुटपाट तोडफोड तथा आगजनी गर्ने मध्येको ठूलो संख्या आपराधिक पृष्ठभूमिका रहेको भनेर त प्रहरीले नै बताइरहेको छ । यही कारण देखाएर वास्तवमा जिम्मेवार दलहरु निर्वाचनको तयारी प्रति सरकारमाथि औँला तेस्र्याइरहेका छन् । हो, उनीहरु दर्ता त भए तर भयरहित निर्वाचनका लागि सरकारले जस्तो आस्वस्त पार्नुपर्ने हो त्यो भएको देखिँदैन । अहिले दलहरु प्रधानमन्त्रीसँग भेटघाटमा व्यस्त छन् । यी भेटका क्रममा, आन्दोलनका क्रममा लुटिएका हतियारहरू नै पछिल्लो समय लुटपाटमा प्रयोग भएको र फरार कैदीहरू आपराधिक गतिविधिमा सक्रिय भएको भनेर रिपोर्टजस्तै गरिरहेका छन् । शान्तिपूर्ण वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको र दिनहुँ फरार कैदी तथा लुटिएका हतियार नियन्त्रण भइरहेकाले चुनावी सुरक्षा प्रति ढुक्क हुन भनी प्रधानमन्त्रीले गरेको आग्रह कसैले पत्याइरहेका छैनन् । हराएकै हतियार फरार रहेका कैदीबन्दीहरुका हातमा पुगेका भन्ने कुराले शान्ति सुरक्षालाई झस्काउँछ नै ।
प्रहरी प्रधान कार्यालयको रिपोर्टअनुसार जेन–जी आन्दोलनका क्रममा एक हजार दुई सय ८१ थान अत्याधुनिक हतियार र एक हजार छ सय ८७ थान गोली लुटिएको थियो । १४ हजार पाँच सय ४९ कैदी फरार भएका थिए । निर्वाचनको दिन नजिकिँदै जाँदा र आन्दोनको साढे दुई महिनापछि पनि देशभरीबाट फरार भएका सबै कैदी पक्राउ परेका छैनन् भने, लुटिएका हतियार पनि बरामद हुन बाँकी नै रहेका विभिन्न विवरणहरुले बताउछन् । रिपोर्टका अनुसार अहिले पनि चार हजार पाँच सय कैदीबन्दी अझै फरार अवस्थामै छन् भने लुटिएका मध्ये ३५ प्रतिशत हतियार फेला परेका छैनन् । यस्तो बेला जेन–जीका नाममा कसैकसैले फलानालाई घरबाहिर निस्कनै नदिने भनेर सार्वजनिक घोषणा गरिरहेका छन् । तर, गृहमन्त्रालय भने यति संवेदनशील विषयमा पनि कुनै एक्सन लिन तयार भएको देखिएको छैन् । त्यसैकारण पनि निर्वाचनको दिन जति नजिक आउँदैछ चिन्ता पनि त्यतिकै रुपले बढिरहेको पाइन्छ । यसमा सरकारले चाहिनेजति संवेदनशीलता देखाएको छैन । यो कुराको सरकारले पनि महसुस गरोस् । त्यसो भएन भने मुखले भनेका भरमा मात्रै निर्वाचन भयरहित हुँदैन । वास्तवमा नै निर्वाचन सम्पन्न गर्ने हो भने समय छँदै यसतर्फ ध्यान जाओस् ।