काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ । शनिबार आयोजित अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले आँखा उपचारका क्षेत्रमा विकसित नयाँ प्रविधि भित्र्याउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताए ।
अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँखा कार्यक्रम सञ्चालन तथा मधुमेहबाट आँखासम्बन्धी हुनसक्ने रोग पत्ता लगाई उपचार गर्दै आएको छ । अध्यक्ष पोखरेलले अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ । अस्पतालले गत आर्थिक वर्ष २०८१/८२ मा बहिरङ(ओपिडी)तर्फ एक लाख ६४ लाख ५७० जनाको आँखा परीक्षण गरेको थियो भने गहन सात हजार आठ सय चारसहित १० हजार तीन सय ९० शल्यक्रिया गरेको जनाएको छ । अस्पतालले चालू आर्थिक वर्षमा एक लाख ७७ हजार पाँच सयलाई बहिरङ्ग सेवा तथा सानाठूलागरी १२ हजार पाँच सय ३० शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल अस्पतालमा १६ जना नेत्र विशेषज्ञसहित एक सय ४१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै, अस्पतालका आजीवन सदस्य संख्या १४१ रहेको छ ।
अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले आर्थिक वर्ष २०८१/८२ मा सात सय ५० बिरामीले उपचारमा निःशुल्क र सहुलीयतपूर्ण सुविधा लिएको बताए । कोषाध्यक्ष अनिलप्रसाद गोर्खालीले गत आव २०८१/८२मा अस्पतालको कुल सम्पत्ति तथा जायजेथा ७२ करोड ५४ लाख ७५ हजार चार सय ५० रुपैयाँ पुगेको जानकारी दिए । त्यस अवधिमा अस्पतालको आम्दानी २५ करोड २५ लाख ८० हजार आठ सय ७४ रुपैयाँ गरेको थियो । सोही अवधिमा अस्पतालले पाँच करोड ४६ लाख ६० हजार छ सय ७६ मूल्य रुपैयाँबराबरको मेसिनरी औजार र सवारीसाधन थप गरेको छ ।
चालू आर्थिक वर्षको प्रस्तावित कार्यक्रमका लागि पुँजीगत खर्चतर्फ छ करोड ५१ लाख ४० हजार रुपैयाँसहित ३४ करोड ५६ लाख ६२ हजार रुपैयाँ बजेट खर्चको अनुमान गरेको छ । उक्त आर्थिक वर्षसम्ममा अस्पतालको विभिन्न वाणिज्य बैंक र मुद्दति खाता तथा अक्षयकोषमा गरी ३१ करोड ३६ लाख ८९ हजार दुई सय १४ रुपैयाँ नगद रकम रहेको कोषाध्यक्ष गोर्खालीले जानकारी दिए । अस्पतालले राजधानी बाहिर अघिल्लो आर्थिक वर्षमा १५ वटा आँखाको निःशुल्क शल्यक्रिया शिविर र ३५ लाख रुपैयाँबराबरको चस्मा र औषधि उपलब्ध गराएको थियो । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।