कृषि उपजमा विषादीको गलत प्रयोगका कारण मानव स्वास्थ्य तथा माटोको उर्बरा शक्तिमा हुने ह्रासको अपूरणीय क्षतिबारे किसानमा चेतनाको अभावका कारण पनि विषादीको अन्दाधुन्द प्रयोग हुदै आएको हो । अस्वाभाविक विषादी प्रयोगका कारण बालीनाली फस्टाउन सहयोग पुर्याउने किटाणु र जीवको नासको कारणले कृषि उपजमा ह्रास आउने तर्फ पनि हेक्का राख्नु जरुरी छ । अर्कोतर्फ कतिपय किटाणुले किटनासक औषधीको असरलाई पचाउँदै गएको कारण औषधीको मात्रा बढाउनुपर्ने बाध्यत बढ्दै गएको छ ।
तरकारीमा अत्याधिक र असुरक्षित विषादीको प्रयोगले उपभोक्तजाको साथसाथै स्वयम् कृषक र परिवारसमेत गम्भीर प्राकृतिक रोगबाट ग्रसित भएको अध्ययन अनुसन्धानले देखाएको छ । व्यावसायिक तरकारी उत्पादनका पकेट क्षेत्रहरुमा क्यानसर, श्वासप्रश्वास, मुटु, मृगौला, कलेजो, आँखा, रगत, पाचन प्रणाली नसाका रोगीहरुको संख्या बढ्दै गएको पाइन्छ । विषादी प्रयोगको आवश्यकता र विधि वारे पर्याप्त ज्ञान र सीपको अभावमा किसानको कृषि उपजबाट हुने फाइदाभन्दा बढी औषधोपचारमा अप्रत्यक्षरुपमा खर्च बढेको छ । विषादी प्रयोग कर्ता कृषकले आफ्नो शरीरलाई मात्र जीर्ण र दीर्घ रोगी नबनाएर आफ्नो र परिवारको आयु छोट्याउने काम गरिराखेका छन् । रसायनिक विषादीलाई निरुत्साहित गर्दै जैविक विषादीको प्रयोगलाई प्रोत्साहित गर्ने आक्रमक नीति तथा रणनीतिको खाँचो खट्किएको जगजाहेर नै छ ।
नेपालको संविधान र प्रचलित कानुनले स्वस्थ जीवन र स्वस्थकर खाना खानपाउनु सबैको अधिकार हो । संविधानले स्वस्थ जीवन जिउन पाउनु र स्वस्थरकर खाना पाउनुपर्ने विषय मौलिक अधिकारको रुपमा स्वीकार गरिसकेको छ । मानव जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने वस्तु वा सेवाको विक्रिबाट सुरक्षित हुन पाउने अधिकार उपभोक्ता संरक्षण ऐन, २०७५को दफा तीन को उपदफा दुई (ङ)मा उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता, २०७४को परिच्छेद पाँच दफा एक सय सातले खाद्य पदार्थ मिसावट गर्न नहुने व्यवस्था गरेको छ । सर्वसाधारणले खाने पिउने वा सेवन गर्ने पदार्थमा अखाद्य हानिकारक कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन, अखाद्य पदार्थ बिक्रीवितरण तथा वस्तु पैठारी गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार सम्म जरिवाना हुने व्यवस्था गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५को दफा दुई (छ)ले स्वासथ्यमा हानी हुने गरी रसायन रंग वा सुगन्ध प्रयोग गरिएको उपभोग्य वस्तुलाई गुणस्तरहीन वस्तु मानेको छ । यसै ऐनको दफा १६को उपदफा (२) (ट) अनुसार कुनै वस्तु उपभोग गर्दा उपभोक्तालाई हानिनोक्सानी वा क्षति पुग्ने गरी विषादी वा कुनै रसायनको प्रयोग गर्ने वा त्यसरी प्रयोग गरिएको वस्तु बिक्री गर्ने कार्यलाई निषेधित गरेको छ । मौजुदा नीतिनियमहरुको समेत प्रभावकारी कार्यान्वयन नहुनाले विषादी व्यवस्थापन चुनौती बन्दै गएको छ ।
विषादी भनेको विष नै हो औषधी होइन । विषादीको अवैज्ञानिक र असुरक्षित प्रयोगको कारण वातावरण, माटो, कृषि लाभदायक किटाणुको नासका साथै मानव स्वास्थ्यमा गम्भिर दूरगामी असर पार्ने हुन्छ । कृषि उपजमा विषादीको अवैज्ञानिक प्रयोगको कारण कृषक र उपभोक्ताको स्वास्थ्यमा नकरात्मक असर पारेको छ । सबैको स्वास्थ्यमा असर पार्ने रसायिनिक विषादी प्रयोगकोे कारण र निराकरण के हुन सक्छ? छुट्याउन विलम्ब भै सकेको छ । भारतबाट आयातित कृषि उपजमा मात्रै विषादी छ त? निष्पक्ष अध्ययन र विश्लेषणको आधारमा निष्कर्षमा पुग्नु बुद्धिमानी ठहर्छ । नेपालमा उत्पादित कृषि उपजमा गरिने विषादीको प्रयोगलाई नियमन र निरुत्साहित गर्न सरकार र सरोकार पक्षको भूमिका के–के हुनु पर्ला? आदी विषयमा सार्थक बहस अपरिहार्य भइसकेको छ । जनस्वास्थ्यमा गम्भीर असर पार्ने विषादी प्रयोगको विगविगीलाई नियमन र नियन्त्रण गर्न बनेका कानुन तथा नीति नियमहरु कागजी बाघ मात्रै हुनु दुःखद् हो । विषादीको अवैज्ञानिक प्रयोगलाई निरुत्साहितका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने नीति तथा रणनीतिको खाँचो खट्किएको अवस्था छ ।
विगतमा भारतबाट आयत गरिने फलफूल र तरकारीको विषादी परीक्षण सीमा नाकामा नै गर्ने सरकारी निर्णय कार्यान्वयन सकसमा परेको थियो । सीमा नाकामा परीक्षणको लागि आवश्यक उपकरणसहितको संरचना र जनशक्ति अभावले भारतबाट आयात हुने फलफूल तरकारी निर्वाधरुपमा नेपाल भित्रिने गरेको छ । तर, नेपालबाट भारत निकासी हुने अदुवा, अलैंची, बेसार, सुपारी आदी कृषिजन्य वस्तुमा विषादी परीक्षणको बहानामा अनेक व्यवधान खडा गरी दुख दिने गरेको जगजाहेर नै छ । भारतको यसप्रकारको हेपाह प्रवृतिको सामना गर्न सरकार र जनस्तरबाटै पहल गर्नुको विकल्प छैन । सर्वोच्च अदालतले समेत विषादी परीक्षण नरोक्न सरकारको नाममा आदेश जारी गरिसकेको छ । जनताको माग र न्यायलयको आदेश समेतलाई आत्मसात गर्दै आफूले गरेको निर्णयको मर्यादा राख्न पनि विषादी परीक्षणलाई तीब्रता दिनु लोककल्याणकारी सरकारको दायित्व हो । सरकारको यस निर्णयले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषादीबारे जनमानसमा चासो र चर्चा ल्याउने कामलाई सकारात्मक नै मान्न सकिन्छ । विदेशबाट आउने फलफूल तथा तरकारीलगायतका कृषि उपज आयात गर्दा मानव स्वास्थ्यलाई गम्भिर असर पार्ने विषादी परीक्षण गर्न आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गर्न तीनै तहका सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्दछ । कृषि उपजमा अन्धाधुन्द विषादी प्रयोगको कारण क्यान्सर, शरीरमा हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, स्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरु, मृगौलासम्बन्धी गम्भीर रोगहरु, छालासम्बन्धी रोगआदी लाग्ने अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । विषादी प्रयोगको विगविगीलाई रोक्न सरकार तथा उत्पादक र उपभोक्ता विशेष चनाखो हुनुपर्दछ । रसायनिक विषादीको प्रयोगलाई क्रमशः यथाशक्य विस्थापनको विकल्प प्रा·ारिक खेती र जैविक विषादीको प्रयोग नै हो । पछिल्लो समय प्रागरिक (अर्गानिक) कृषि उपजतर्फ उपभोक्ताको माग बढेसंगै कृषकले पनि अर्गानिक खेतितर्फ ध्यान दिन विलम्ब गर्नु हुँदैन । अर्गानिक कृषि उपजको मूल्य पनि आकर्षक भएकोले त्यसतर्फ सरकार र सरोकार पक्षको ध्यान जान विलम्ब भइसकेको छ । अहिले यदाकदा स्थानीय सरकारले अर्गानिक खेतिलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याएको सार्वजनिक हुँदै छन् । हाम्रा पिता पुर्खाले प्रयोग गर्दै आएका जैविक विषादीको प्रयोगका ज्ञान र सीपलाई अवलम्बन गरेर पनि रासायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्न टेवा पुग्ने छ । स्थानीयस्तरमा जैविक विषादीको रुपमा नीम, बाबरी, तीतेपाती, कपूर, टिम्बूर, बकाइनो, खिर्रो, केत्तुकी, असुरो आदि जडिबुटीलगायत गाईभैंसीको गहूँत तथा खरानीसमेतको प्रयोगले बालीनाली र बिउ जोगाउने अभ्यास र अनुभवलाई प्रयोग गर्न प्रोत्साहित गर्नु बुद्धिमानी ठहर्छ ।