सुदूरपश्चिम । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर—दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को उद्घाटन गर्दै उनले गुणस्तरीय र भरपर्दो उत्तर—दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन नसकेको धारणा राखेका हुन् ।
अर्थमन्त्री खनालले भने, ‘उत्तर—दक्षिण कनेक्टिभिटी अति महत्वपूर्ण छ, कनेटिभिटीले नै विभिन्न हावापनी भएको भूगोल, विभिन्न संस्कृति र क्षमता भएकाहरूलाई सहजरूपमा आर्थिक गतिविधिमा सक्रिय बनाउँछ । सुदूरपश्चिममा यही नभएका कारण विकासमा समस्या भयो ।’
उनले स्रोतको उपयोग गर्दै ठूला परियोजना अगाडि बढाउनुपर्ने र अधुरा विकास आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सोचका साथ आफूले काम गरिरहेको बताए । उनले भने, ‘जेन–जी युवापुस्तको आवाजले देशलाई परिवर्तनका लागि अगाडि बढ्न सन्देश दिएको छ । नवयुवाको परिवर्तनको चाहनालाई संस्थागत गर्न तोकिएको फागुन २१ मा निर्वाचन गर्नुछ । हामीसँग धेरै समय, सीमा पनि छैन, तथापि विकासका कामलाई एउटा लयमा लिनका लागि हाम्रो प्रयत्न जारी छ ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सुदूरपश्चिम प्रदेश कृषि, पर्यटन, जलस्रोत, जडिबुटीलगायत स्रोतमा सम्भावनाको खानी भए पनि अपेक्षित विकास हुन नसकेको बताए । अब सबै पक्ष मिलेर प्रदेशको विकासका लागि लाग्नुपर्ने र त्यसमा आफ्नो तर्फबाट पनि भूमिका रहने बताए ।
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले पछिल्लो तथ्यांकले सुदूरपश्चिममा गरिबी घट्नुको साटो बढेको देखिएको भन्दै अब सही योजनामा लगानी गरेर स्रोतको उपयोग र आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिए । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले हरेक वर्ष आयोजना हुने महोत्सवमार्फत विभिन्न माग राखेर शालिन आन्दोलन थालिएको लामो समय भइसक्दा पनि धेरै माग पूरा हुन नसकेको भन्दै ध्यानाकर्षण गराए ।
धनगढी उपमहानगरपालिका—१ मा रहेको मैदानमा भइरहेको महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा कृषिउपज प्रदर्शनी, हस्तकला, जडिबुटी, स्थानीय समुदायका खानाका परिकार, सांस्कृति कार्यक्रम, बाल उद्यानलगायत स्टल राखिएका छन् । रासस