भ्रष्टाचारविरुद्ध अनुसन्धान र अभियोजन गर्ने एउटै मात्र सम्बैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारविरुद्ध केही मात्रै सक्रिय भइदियो भने, ठूला–ठूला भ्रष्टाचारका काण्डहरू प्रकट हुँदैजाने र कर्ताहरू पनि जतिसुक ठूला र शक्तिशाली किन नहुन् अनुसन्धानको दायरामा परेर अदालतको कठघरामा उभिनै पर्दोरहेछ भन्ने पछिल्लोपट ठूलै उदाहरण कायम भएको छ । निर्माणको प्रक्रिया प्रारम्भ भएको सुरुदेखि नै आर्थिक विवादमा पर्न थालेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कुल लागतकै हाराहारी भ्रष्टाचार भएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै अनुसन्धान सकेर अदालतमा दर्ता गराएको अभियोगपत्रले देखाएको छ । यसमा पाँच पूर्वमन्त्री, चार पूर्वसचिव, सहसचिव र सम्बन्धित अन्य अधिकारीहरूसहित ५५ जना अभियोगी बनेका छन् । अख्तियारको आरोप पत्रमा यसमा संलग्न ५५ जना नै भ्रष्टाचारी भएका र सबैसँग आठ अर्ब ३६ करोड बढी जरिबाना माग भएको छ । यो बिगो ठहर भएमा चारखर्बभन्दा बढी रकम अभियोगीबाट भराउनु वा भर्नुपर्ने छ । अख्तियारले एकैपटकमा, एउटै विषय संख्या र रकमका हिसाबले यति ठूलो मुद्दा चलाएको यो पहिलो घटना हो ।
गएको आइतबार विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन चारजना मन्त्रीहरू र एक अर्थमन्त्री परेका छन् । पर्यटनकै आधादर्जन सहसचिव पनि मुछिएको पाइयो भने, हवाई प्राधिकरणका उच्च अधिकारी पनि घोटालामा संलग्न रहेका देखियो । एउटै मुद्दामा अर्थात् एउटा निर्माण कार्यमा यो हदसम्मका निर्णायक तहमा बसेका पदाधिकारी मुछिएको यो पहिलो घटना मानिएको हुनुपर्छ । अख्तियारको अभियोगपत्रको पहिलो बुदामै भनिएको छ– ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत अनुमान एक सय ४५ मिलियन अमेरिकी डलर अधिकार प्राप्त निकायबाट स्वीकृत भइसकेको अवस्थामा सार्वजनिक संस्थाले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ लगायतको प्रचलित कानुनबमोजिम खरिद प्रक्रियाको चरणमा जानुपर्नेमा ठेकेदार कम्पनी China CAMC Engineering Co.Ltd ले बदनियत राखी मनासिब कारण विना लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाइ आफू तथा अन्य संलग्न प्रतिवादीहरूसमेतलाई गैरकानुनी लाभ प्राप्त गर्न उल्लिखित कानुनबमोजिम प्रतिस्पर्धासमेत गरी खरिद प्रक्रिया सम्बन्धी थप कार्यमा प्रवेश गर्नुपूर्व नै अस्वाभाविक मूल्य कायम गरी लागत अनुमान बढाइ दुई सय ८६.५२६ मिलियन अमेरिकी डलर कायम गर्न/गराउन China CAMC Engineering Co.Ltd ले सार्वजनिक संस्थाका राष्ट्रसेवकहरूलाई बदनियतका साथ पत्राचार गरे गराएको देखिएको छ ।’
अख्तियारको यो अभियोगपत्रको अन्तिम बुदामा प्रस्तुत विवरणले यो भ्रष्टाचार प्रकरण कति गम्भीर हो भन्ने खुलाउँछ, जसमा आफ्नो देशको कामभन्दा निर्माणकर्ता विदेशी कम्पनीको हित चिताएको देखिएको छ । उल्लिखित बिगो रकमको कसरी स्थापित हुन्छ भन्ने बारे अख्तियारको भनाइ उसकै शब्दमा यस प्रकार रहेको छ– राष्ट्रसेवक तथा गैरराष्ट्रसेवक र निर्माण व्यवसायी तथा उक्त कम्पनीका पदाधिकारीहरूलाई गैरकानुनी लाभ र नेपाल सरकारको सार्वजनिक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गैरकानुनी हानी पुर्याउने बदनियतले स्वीकृत लागत अनुमान संशोधन गरी/गराइ अस्वाभाविक लागत अनुमान बढाइ सोहीबमोजिम अस्वाभाविक रूपमा बढी मूल्य तिरी निर्माण खरिद गरी भुक्तानी भएको जम्मा बिगो ७,४३,४३,४५०.०० अमेरिकी डलर (अक्षरेपि सात करोड त्रिचालिस लाख त्रिचालिस हजार चार सय पचास अमेरिकी डलर) लाई सुरु भुक्तानी मिति २०७५/०४/२५ (१० अगस्ट २०१८) मा नेपाल राष्ट्र बैंकले तोकेको बिक्री विनिमय दर प्रति अमेरिकी डलर ११२।५५ रुपियाँका दरले हुन आउने जम्मा बिगो ८,३६,७३,५५,२९७।५० रुपियाँ (अक्षरेपि आठ अर्ब छत्तीस करोड त्रिहत्तर लाख पचपन्न हजार दुई सय सन्तानब्बे रुपियाँ पचास पैसा) भ्रष्टाचार गरे गराएको माथि विवेचित आधार प्रमाणहरूबाट तथ्य स्थापित हुन्छ ।