प्रभु बैंक लिमिटेडको रेमिटेन्स विभागका प्रमुख सुजिन शाक्य बैंकिङ कसूरमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ अन्तर्गत थप कसूरमा उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानपछि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। अनुसन्धान अनुसार रेमिट कारोबारका क्रममा प्रभु बैंकलाई हानि पुर्‍याइ प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी प्रिफन्डिङ सुविधाको दुरूपयोग गरिएको पाइएको छ। कानुन विपरीत अर्कै रकम प्रिफन्डिङ नाममा उपलब्ध गराइएको र त्यसबापत बैंकलाई लाग्ने ब्याज नलिइएको कारण एक अर्ब रुपैयाँभन्दा बढी हानि भएको ब्युरोले जनाएको छ। बुधबार ललितपुर महानगरपालिका–११, इखांचेबाट ४२ वर्षीय शाक्यलाई पक्राउ गरिएको CIB ले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा प्रभु म्यानेजमेन्ट प्रालि लाई नियम विपरीत ‘सुपर एजेन्ट’ बनाइ रेमिट कारोबारका लागि अवैध रूपमा एड्भान्स रकम उपलब्ध गराइएको पाइएको छ। उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भइसकेपछि पनि नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत लामो समयसम्म स्वार्थ समूहलाई उक्त रकम प्रयोग गर्न दिइएको र यसबाट आठ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा हानि भएको समेत खुलेको छ। यसबाहेक, सोही अपराध लुकाउन ऋण प्रवाह गराई कर्जा दुरूपयोग हुने वातावरण बनाएको आरोपमा प्रभु बैंकका सिइओ अशोक शेरचन समेतमाथि बैंकिङ कसूरसम्बन्धी अनुसन्धान भइरहेको CIB ले जनाएको छ। पक्राउ परेका शाक्यविरुद्ध थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।