काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेकी छिन् । तोडफोड र आगलागीबाट संसद् भवनमा भएको क्षतिबारे पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आगनजी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिनीधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताइन् । गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनमा सङ्घीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो ।