इस्लामावाद । पाकिस्तानले आर्थिक संकट व्यवस्थापन तथा सुधार कार्यक्रमका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट झन्डै एक अर्ब २० करोड डलरबराबरको रकम प्राप्त गरेको घोषणा पाकिस्तान राज्य बैंकले गरेको छ । बैंकका अनुसार यो रकम बिहीबार देशको कोषमा दाखिला भइसकेको छ ।
सिन्ह्वाका अनुसार यो सहायता विस्तारित कोष सुविधाअन्तर्गत दोस्रो समीक्षाको काम पूरा भएपछि प्रदान गरिएको हो । साथै, दिगोपन तथा स्थायित्वसम्बन्धी कोषअन्तर्गत पहिलो किस्ता पनि एकैसाथ स्वीकृत भएपछि पाकिस्तानले थप आर्थिक राहत पाएको हो ।
राज्य बैंकले स्पष्ट पारे अनुसार प्राप्त रकम यस साता विदेशी मुद्रा भण्डारमा औपचारिकरूपमा देखिनेछ । यो रकम विदेशी कारोबार सन्तुलन, भुक्तानी क्षमता र आर्थिक स्थिरतामा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
यस आर्थिक सहयोगले पाकिस्तानको चालू कार्यक्रम, सुधार योजना र आगामी आर्थिक कदमहरूलाई टेवा पुग्ने सरकारी अधिकारीहरूले बताएका छन् ।