काठमाडौँ । ललितपुरको बागमती करिडोर अन्तर्गत यूएन पार्क सडक खण्डमा भएको सवारी दुर्घटनामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको भाइ राजीव सिन्हाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ बजेर ५० मिनेटमा भएको दुर्घटनामा घाइते भएका ४५ वर्षीय सिन्हाको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । प्रहरीका अनुसार कुपण्डोल पुलबाट यूएन पार्क पुलतर्फ जाँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरीत दिशाबाट आइरहेको बा प्र०१–०२२ च ००६१ नम्बरको निजी कार, बा २ ज ४७६० नम्बरको भाडाको कार, बा प्र ०१–०२९ च ८१४५ नम्बरको निजी भ्यान र सोही दिशातर्फ गइरहेको बा ५१ प ९५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सिन्हा स्कुटरमा सवार थिए । दुर्घटनामा संलग्न पाँच वटै सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले बाप्र०१–०२९ च ३८९६ नम्बरको निजी भ्यानका चालक काठमाडौँ नागार्जुन नपा ६ बस्ने २० वर्षीय रोहित रन्जितकारलाई नियन्त्रणमा लिएको छ । अन्य सवारीका चालकहरू दोलखा शैलुंङ गापा ५ बस्ने ३५ वर्षीय अरुन कार्की (निजी कार बा प्र०१–०२२ च ००६१), रामेछाप मन्थली नपा १२ बस्ने २७ वर्षीय सुन्दर सार्की (भाडाको कार बा २ ज ४७६०) र उदयपुर रतुवामाई गापा १ बस्ने २३ वर्षीय विष्णु बहादुर तामाङ (निजी भ्यान बा प्र ०१–०२९ च ८१४५) रहेका छन् ।