काठमाडौं । याङ्गो राइडले नेपालमा आफ्नो अनुप्रयोगमा नयाँ सुरक्षा संरचना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सुरक्षा संरचनाले व्यक्तिगत सुरक्षा ‘चेकलिस्ट’हरू समावेश गरेको छ । यसले यात्रुहरूलाई यात्राका बेला लागू भएका सुरक्षा उपायहरूको वर्तमान अवस्था हेर्ने सुविधा प्रदान गर्नेछ ।
साथै, यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्रा दौरान पालन गर्नसक्ने सुरक्षा सुझावहरूसहितको नयाँ ‘सेफ्टी सेन्टर’ पनि समावेश गरिएको छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ सेफ्टी सेन्टरमा यात्रुहरूले पालन गर्नुपर्ने उपायहरूको सूची प्रदर्शित हुन्छ । यसमा अनबोर्डिङ सामग्री पढ्नु, व्यक्तिगत जानकारी भर्नु, विश्वसनीय सम्पर्क थप्नु, सेल्फी प्रमाणिकरण गर्नु, वा इमेल अद्यावधिक गर्नुजस्ता चरणहरू समावेश छन् । यदि सूचीमा कुनै पनि कुरा अपूर्ण छ भने, एपले त्यसैलाई चिन्हित गर्छ र प्रयोगकर्तालाई आवश्यक कदम चाल्न तथा बाँकी भाग पूरा गर्न सूचित गर्छ । यात्रुहरूले पार्टनर चालकका लागि निर्धारित मापदण्डहरू, विवाद वा दुर्घटना परेको अवस्थामा सहयोग कसरी पाउने, तथा प्रत्येक सुरक्षा सुविधाबारे विस्तृत जानकारी एकै क्लिकमा जान्न सक्छन् । मुख्य स्क्रिनमा आपतकालीन अवस्थाका लागि सधैँ एसओएस सिग्नल र सपोर्टका लागि क्वीक एक्सेस बटनहरू उपलब्ध हुन्छन् ।
पार्टनर चालकहरूले आफ्नो चालक अनुमति पत्र (दुवै तर्फ) का फोटो र अनुमति पत्र समातेको सेल्फी अनिवार्यरूपमा अपलोड गर्नुपर्छ । सिस्टमले यी जानकारीलाई चालकको प्रोफाइलसँग मिलान गर्ने र यो प्रक्रिया पूरा नभएसम्म चालकले अर्डर लिन नपाउने जनाइएको छ । यस्तै याङ्गो एपले जीपीएस प्रयोग गरी चालकको मार्ग र गति ट्र्याक गर्नेछ । कम्पनीका अनुसार यात्रु र पार्टनर चालक दुवैका लागि यात्राअघि, यात्रा दौरान र यात्रापछि प्रयोग गर्न मिल्ने ३० भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन् । यी सुविधाहरूमा गति र ड्राइभिङ शैली निगरानी, विश्वसनीय सम्पर्कसँग मार्ग र विवरण सेयर गर्ने सुविधा, आपत्कालीन अवस्थामा एसओएस नम्बरमा द्रुत पहुँच, तथा अन्य धेरै विकल्पहरू समावेश छन् ।