काठमाडौं । कृषि विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबार बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सो अवसरमा बैंकले वृहत् कार्य संजालद्वारा आफ्ना वस्तु÷सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा स्थापना भएका शाखाहरू, मुख्य कार्यालयसमेत गरी दुई सय ८५ वटा कार्यालयमार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरू मध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको जानकारी दिएको छ । सभामा सेयर धनीहरूलाई चुक्ता पुँजीको तीन दशमलव २५ प्रतिशत बोनस सेयर र नगद लाभांश स्वरुप नौ दशमलव ७५ प्रतिशत (करसहित) उपलव्ध गराउने प्रस्ताव पारित भएको छ । बैंकका अनुसार वार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभामा वक्ताको रूपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत नौ जनाले आफ्नो भनाइ राखेका थिए भने केही सेयरधनीहरूले लिखित मन्तव्यसमेत दिएका थिए । यसरी भाग लिनु भएका सेयरधनीहरूले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पौडेलले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरे । सेयरधनीहरूको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक संचालक समितिका सदस्यहरू क्रमशः सेवन्तक पोखरेल, डा. हरि बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाइँ, रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।