काठमाडौँ । सभापति देउवा निवासमा पार्टीका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । मंगलबार भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
भेटमा नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउन सभापतिको ध्यानाकर्षण गराउँदै कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताएका थिए ।
पार्टीभित्र कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी पार्टीको महाधिवेशन र आम निर्वाचनमा खटाउन कोइरालाले आग्रह गरे । भेटमा पार्टीका नेता एवम् पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल पनि कोइरालासँगै देउवा निवास पुगेका थिए ।