काठमाडौँ । प्रहरीले झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले तीन जनालाई झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षले काठमाडौँबाट झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत र झापा भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेको जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले झुठ्ठा विवरण पेस गरेर नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउने कार्यमा संलग्न निजहरूलाई पक्राउ गरेको हो । निजहरूलाई नागरिकता, लिखत किर्ते र सङ्गठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले विहीबार जनाएको छ ।