वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्यांकरहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन् । यस घोषणासँगै उनले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका छन् ।
एएफपीका अनुसार ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेषरूपमा लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले महिनौँदेखि क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी विस्तार गर्दै आएको छ । काराकासले यस अभियानलाई वामपन्थी शक्तिशाली राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ । मदुरोलाई वासिङ्टनसहित धेरै देशले अवैध राष्ट्रपति मान्दै आएका छन् । साथै, भेनेजुएलाले यसलाई आफ्नो तेल ‘चोर्ने’ योजनाका रूपमा पनि हेरेको छ ।
देशको हवाई क्षेत्रलाई ‘बन्द’ मानिनुपर्ने र ‘भूमिमा लागुऔषध तस्करी रोक्ने’ प्रयासहरू चाँडै सुरु हुने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्र सैन्य कारबाहीसमेत हुनसक्ने आशय व्यक्त गरेपछि पछिल्ला हप्ताहरूमा दुवै देशबीच तनाव उल्लेखनीय रूपमा बढेको छ । गत हप्ता संयुक्त राज्य अमेरिकाले भेनेजुएलाबाट बाहिरिएको एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो भने भेनेजुएलाको तेल उद्योगसँग सम्बन्धित अन्य धेरै जहाज तथा कम्पनीहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गर्दै अभियानमा थप कडाइ गरेको थियो ।