काठमाडौं । बीमा कम्पनीहरूले बाढीजन्य क्षतिमा हालसम्म ११ करोड १५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार अनुसार २०८२ साल असोज १८ गते यताको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका सात सय ९० वटा प्रारम्भिक बीमा दाबीको करिब चार अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा ९६ वटा दाबीको कुल दाबी रकम करिब ११ करोड १५ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको हो ।
प्राधिकरणका अनुसार यसअन्तर्गत विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ चार सय १७ वटा प्रारम्भिक दाबीको दाबी रकम करिब तीन अर्ब ५८ करोड ३२ लाख रुपैयाँ रहेको छ । जसमध्ये हालसम्म ३३ वटा बीमा दाबीको करिब नौ करोड ६४ लाख भुक्तानी भएको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ एक सय सातवटा बीमा दाबीको करिव ५१ करोड ५७ लाखमध्ये सातवटा दाबीको करिब नौ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
यसैगरी कृषि तथा बाली बीमातर्फ दुई सय १० वटा बीमा दाबीको करिब चार करोड १४ लाख दाबी रकम रहेको छ । सोमध्ये ४२ वटा दाबीको करिव १९ लाख रुपैयाँ भुक्तानी भएको छ । मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिब दुई करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको करिब एक करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ । सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको करिब ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुईवटा दाबीको करिब तीन लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको करिब एक करोड १९ लाख र लघुबीमार्फत दुईवटा दाबीको करिब १२ लाख रुपैयाँ बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु भएको छैन ।