काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन सरकारले सहयोग गर्ने बताएका थिए ।
उनले बाँकी काम समयमै सम्पन्न गर्न निर्देशनसमेत दिएको उनको सचिवालयले जनाएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्री अर्याललाई जानकारी दिए । उनले १२ किलोमिटर सुरुङ निर्माण कार्य पूरा भइसकेको बताए । उनका अनुसार अब इलेक्ट्रोमेकानिकल हाइड्रोमेकानिकलको काम बाँकी छ । बुधबार बिहानदेखि सुरक्षा गोष्ठीमा मन्त्री अर्याल सहभागी हुने कार्यक्रम रहेको छ ।