बर्दिया (गुलरिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए ।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको संख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आठगुणाले बाघको संख्यामा वृद्धि भएको पाइएको छ । बाघको वृद्धिसँगै यस क्षेत्रमा संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ ।
यद्यपि बाघ गणना सुरु भएकै दिन बुधबार बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वन पार्वती डाँगीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको छ ।
नेपालले अन्तरराष्ट्रिय लक्ष्यअनुसार दशकभरमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । सो लक्ष्यभन्दा बढी बाघमा वृद्धि भएको सचिव शर्माको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारीअनुसार हाल नेपालमा ३५५ बाघ छन्, जसमा बर्दियामा मात्रै करिब १२५ रहेको छ ।
पछिल्लो समय २१ वटा पाटेबाघको मृत्यु भएको छ । बाढीपहिरो, चोरी सिकारी, आपसमा लड्नु र प्रकृतिक कारणले निकुञ्ज र सामुदायिक वनमा रहेका पाटेबाघको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए ।
बाघको संख्या विस्तारका लागि संरक्षण, सुरक्षा, आवास विस्तार र सिकार नियन्त्रणलाई प्रमुख कारण मानिएको छ । बाघको पछिल्लो गणना गरेपछि संरक्षणको प्रभाव कस्तो रहेको छ भन्ने तथ्य प्रस्तुत गर्न सकिनेछ । तर, बाघको संख्या वृद्धि हुनासाथ मानव–वन्यजन्तु द्वन्द्व पनि बढेको तथ्य अधिकारी र स्थानीय दुवैले स्वीकार गरेका छन् ।
निकुञ्जको तथ्याड्ढअनुसार तीन आर्थिक वर्षमा बर्दियामा ३२२ वन्यजन्तु मृत्यु भएका छन् र ४२३ वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तु मृत्युमध्ये ठूलो हिस्सा सवारी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, प्राकृतिक कारण, रोग, विद्युत् र आपसी द्वन्द्वका कारण भएको पाइएको छ ।
बाघको मर्नुको मुख्य कारणमध्ये आपसी लडाईं पनि देखिएको छ । वयस्क बाघहरू क्षेत्राधिकारका लागि प्रतिस्पर्धा गर्दा धेरैजसो मृत्यु हुने गरेको निकुञ्जका कर्मचारीको भनाइ छ । मानवीय पक्षबाट हेर्दा बाघसँगको द्वन्द्व अत्यन्तै पीडादायी बन्दै गएको छ ।
यस आव २०८२/२०८३ को दुई महिनामा चार जनाले बाघको आक्रमणमा परी मृत्युवरण गरेका छन् । तीन वर्षको अवधिमध्ये नेपालभर ५३ जनाले ज्यान गुमाएका छन्, जसमा ३४ जना बर्दियाबाट मात्र छन् । बर्दियाका मधुवन, बारबर्दिया र गेरुवा क्षेत्रलाई बाघ आक्रमणका उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ । मधुवन नगरपालिका–३ धनौराकी रमिता थारूको घटना यस क्षेत्रमा भएका घटनामध्ये सबैभन्दा मार्मिक मानिन्छ । उनले २०७७ कात्तिकमा एकैदिन श्रीमान् र भाइ गुमाइन् ।
जङ्गलमा हराएका श्रीमान् खोज्न गएकी रमिताले दुवै परिवार सदस्यलाई गुमाउनुपर्यो । अहिले उनी सानो घर, पाँच कट्ठा जमिन र दुई छोरीको पालनपोषणको जिम्मेवारीसँग सङ्घर्ष गरिरहेकी छिन् । आर्थिक अभाव, आयको स्रोतको कमी र मनोवैज्ञानिक आघातले उहाँको जीवन अझ जटिल बन्दै गएको छ ।
रमिताकी भाउजु पूजा थारूले पनि श्रीमान् गुमाइन् । निकुञ्जले १० लाख राहत रकम दिए पनि दुवै परिवारका लागि त्यो रकम जीवनयापनका लागि पर्याप्त छैन । स्थानीयका अनुसार मृतकका परिवारलाई राहत रकम उपलब्ध भए पनि शिक्षा, स्वास्थ्य, आयआर्जन र लामो समयको खर्च व्यवस्थापनमा ठूलो कठिनाइ भइरहेको छ । निकुञ्जले राहत वितरणका क्रममा कडाइ अपनाउँदा, कागजात र प्रक्रिया झन्झटिलो हुँदा धेरै पीडितले समयमै राहत पाउन नसकेको गुनासो छ ।
बाघ संरक्षणका दृष्टिले बर्दियाको खाता करिडोर अन्तरराष्ट्रिय मान्यता प्राप्त क्षेत्र हो । त्यसैले गर्दा यस क्षेत्रमा बाघको संख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय प्रमुख अजित तुम्बाहाम्फे बताए । रासस ।