काठमाडौ । क्रिसमसको अवसरमा केएल दुगढ ग्रुपका सदस्यहरुले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयलाई एक हजार लिटरको पानी ट्यांकी प्रदान गर्नुको साथै त्यहाँ रहेका बालबालिकाहरुलाई विभिन्न उपहारहरु बाँडेको छ ।
कम्पनीले कक्षा १ देखि ८ सम्म अध्ययन गरिरहेका ६ देखि १६ वर्षका नौजना बालबालिकालाई उपहार वितरण गरेको हो । बालबालिकाका अनुहारमा मुस्कान ल्याउन र उनीहरूको क्रिसमस खुशीमय बनाउनको लागी उपहार प्रदान गरिएको जनाईएको छ । केएल दुगढ ग्रुपकी कार्यकारी निर्देशक सृष्टि दुगढको अनुसार बालबालिकाको जीवनमा साना क्षणहरुले पनि ठूलो फरक पार्न सक्दछ । उनीहरूको अनुहारमा देखिएको मुस्कान र खुशीले आफ्नो कर्तव्यको महत्व अझै बुझाएको उनले बताइन् । उपहार वितरण बाहेक, कम्पनीका प्रतिनिधिहरूले अनाथालयमा उल्लेखनीय समय बिताएका छन् । बालबालिकासँगै एउटै स्थानमा खाना खाँदै गरिएका रमाइला कुराकानी र विभिन्न गतिविधिहरूले यस दिनलाई अझ स्मरणीय बनाएको छ ।
कम्पनीको अनुसार यो कार्यक्रम समाजप्रति जिम्मेवारी पूरा गर्ने निरन्तर प्रयासको एक हिस्सा हो । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर गर्ने र हरेक समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।