काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको बताएका छन् । राससका अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको उच्चस्तरीय वार्ताले चुनावमा जाने निष्कर्ष निकालेको उनले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै तथा सरकारका प्रवक्ता खरेलले भने, ‘एमालेका अध्यक्ष ओलीले स्पष्टरूपमा एमाले चुनावमा जान तयार छ, तर सरकारले वातावरण बनाओस् भन्नुभएको छ । कांग्रेस सभापति देउवाले पनि अब संसद् पुनःस्थापना नभइ निर्वाचनमा जाने कुरालाई स्पष्टसँग भन्नुभएको छ ।’ शनिबारको बैठकपछि चुनाव हुन्छ कि हुन्न भन्ने दुविधा र चुनावमा राजनीतिक दलले भाग लिन्छन् कि लिँदैनन् भन्ने संका पनि टरेको उनको भनाइ थियो । बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले पनि तोकिएको मिति फागुन २१ मै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएको पनि प्रवक्ता खरेलले जानकारी दिए । उनले भने, ‘संयोजक दाहालले निर्वाचनको लागि आफ्नो पार्टी तयार रहेको मात्रै नभई एमालेका अध्यक्ष ओलीलाई निर्वाचनका लागि तयार हुन पनि आग्रह गर्नुभएको छ, उनले सरकारले गरेको कामको पनि प्रशंसा गर्नुभएको छ ।’
सभापति देउवाले बैठकमा कांग्रेसको अबको एजेण्डा संसद् पुनःस्थापना नभई चुनाव भएको उल्लेख गर्दै चुनावका लागि तयार हुन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि मन्त्री खरेलले जानकारी दिए । बैठकमा फागुन २१ गते हुने निर्वाचनको समयमा मौसमले साथ नदिएको खण्डमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । उनले थपे, ‘फागुनमा हिउँ पर्नसक्ने वा तपाईमा हुने पर्वका कुरा पनि उठेका छन्, तर प्रधानमन्त्रीज्यूले सरकारले फागुन २१मै निर्वाचन गर्ने म्यान्डेड छ भनेर कुरा राख्दा उहाँहरूले त्यसमा अरु कुरा गर्नुभएको छैन । सरकारको लक्ष्य चुनाव गराउने हो, यो भन्दै गर्दा भ्रष्टाचार र सुशासनका कुरा पनि सँगसँगै छ ।’
मन्त्री खरेलले फागुन २१ गते चुनाव सम्पन्न गर्ने लक्ष्यसहित त्यसमा आइपर्ने चुनौती र समस्याबारे प्रष्ट पार्दै अगाडि बढ्ने सरकारको योजना रहेको पनि सुनाए । प्रमुख तीन राजनीतिक दलकै शीर्ष नेताले बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका थिए । बैठकपछि नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए । छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् ।