काठमाडौं । नुवाकोटको केन्द्रबिन्दु बट्टार बजारमा रहेको बट्टार सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा बिदुर ४ बट्टारमा सम्पन्न भएको छ । संस्थाका संचालक अध्यक्ष टलक मान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य केशर बहादुर श्रेष्ठबाट सात सिद्धान्तको प्रतिक स्वरुप सातवटा मैनबत्ती बालेर कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट आनन्द लाल प्रधान, भीम कुमारी आचार्य, जुनुमाया श्रेष्ठ, रामकृष्ण प्याकुरेल, मोहन कुमारी अर्याल, सन्तमाया श्रेष्ठ, प्रेम कुमार सापकोटा, जानुका देवी घिमिरे र विष्णु प्रसाद नेपाल लाई सम्मान पत्र, नगद र दोसल्लासहित तथा पूर्व संचालकद्वय मोहन बहादुर खड्का र उद्धब मुडवरी तथा मृत्युपर्यन्त पूर्व सञ्चालक स्वर्गीय रामराज श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यरत कर्मचारीबाट संस्थाका कर्मचारी सरला श्रेष्ठलाई प्रमुख अतिथि र अध्यक्षको हातबाट सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष टलक मान श्रेष्ठले आव २०८१/०८२को आयव्यय वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष मेनुका श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने संस्थाका ऋण संयोजकले ऋण प्रतिवेदन तथा व्यवस्थापक विकास अर्यालले २०८१/०८२ को अनुमानित कार्यक्रम बजेट पेश गरेको सो कार्यक्रममा संस्थाको आव २०८१/०८२को सेयर सदस्य सङ्ख्या दुई हजार दुई सय १९ जना, कुल सेयर पुँजी छ करोड ३२ लाख ३१ हजार र निक्षेप बाँकी ४९ करोड ९० लाख ५३ हजार नौ सय ७२ र ३९ करोड ७२ लाख १३ हजार ८१ रुपैयाँ रहेको संस्थाका व्यवस्थापकले बताए ।
सो कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि केशर बहादुर श्रेष्ठले यो बट्टार सहकारी बिदुर नगरपालिकाको मात्र नभै समग्र नुवाकोटकै अग्रणी संस्था भएको र यो संस्थाको सिको गर्दै अन्य संस्थाले समेत यहि संस्थाको अनुसरन गर्ने गरेको बताए । उनले यो संस्था नीति नियम र सहकारी सिद्धान्तलाई अंगिकार गर्दै अगाडि बढिरहेकोले यो संस्था र यसका सेयर सदस्यको भविष्य झनै उज्ववल देखिएको बताए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ओम प्रकाश श्रेष्ठ, पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ, सल्लाहकार द्वारिका प्रसाद पाण्डे, मोहन बहादुर खड्काले शुभकामना मन्तव्य दिएको सो कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक विकास अर्यालले गरेको थिए ।