काठमाडौं । मोरङ व्यापार सङ्घको आयोजनामा संचालन भइरहेको विराट एक्स्पोमा स्टार्ट अप आइडिया पिच गरिएको छ ।
मंगलबार सातवटा आइडिएटरले आफ्ना आइडिया पिच गरेका छन् । कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्री प्रालिको कन्सेप्ट प्रस्तुत गरेका थिए । खाद्य आपूर्ति गर्ने उद्देश्यसाथ उपभोक्ता परिवारलाई सबै खाद्य सामाग्री आपूर्ति गर्ने आइडिया उनले प्रस्तुत थरेका थिए । पाँच वर्षमा देशका सबै महानगरपालिकामा विस्तार गर्ने लक्ष्य रहेको दाहालले बताए । इलाम सूर्योदयका प्रमोद सापकोटा ग्रिन इनोभेसनमा आधारित पोलिएका रातो इँटालाई विस्थापित गर्ने प्रविधिबारे जानकारी गराए । वातावरण मैत्री इँटा बालुवा तथा माटो प्रयोग गरेर बनाइने उनले बताए । विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्नसम्बन्धी आफ्नो गफसप ब्रान्डको विषयमा आफ्नो प्रस्तुति दिए भने झापाका सिमन ताजपुरिया गुरुकुल पुस्तकालय डटकम नाममा आफ्नो आइडिया पिच गरेका थिए । विद्यार्थीले प्रयोग गरेका पुराना र खेर जाने पुस्तकहरू पुनः प्रयोग गर्ने उनले प्रस्तुति दिए । यो किताबप्रेमीहरूलाई पुस्तक बेच्ने प्लेटफर्म हो ।
मोरङका भिजन प्रताप खत्रीले एग्रिकल्चरसम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । मोरङका सुगन्ध रेग्मी फुड एन्ड वेभरेजसम्बन्धी प्रस्तुति दिए । विज्ञान घिमिरेले स्वाद मित्रताको अड्डा नामक भेइकल फुडको आइडिया पिच गरेका थिए । विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ पढाइका लागि सम्पूर्ण पाठ्य सामाग्री उपलब्ध हुने एआईमा आधारित नयाँ कम्प्युटर एप्लिकेसनसँग सम्बन्धित आइडिया सेयर गरेका थिए ।
मोरङ उद्योग व्यापार सङ्घले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आइडिया प्राप्त भएकोमा उत्कृष्ट २५ मध्येबाट १५ जना छनोट भएका थिए । प्राप्त आइडियाहरूमध्येलाई लगानीकर्तासँग साक्षात्कार गराउने उद्देश्य रहेको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिए । यसको सहजीकरण आइडिया स्टुडियोले गरेको थियो । यसको निर्णायकमा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, सङ्घका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा.सन्देशदास श्रेष्ठ रहेका थिए ।
एक्स्पोमा हरेक थिमेटिक सेसन सञ्चालन हुंँदै आएको छ । मंगलबारको सेसनमा कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदीले स्टार्टअप इकोसिस्ट महत्वपूर्ण भएको बताए । नयाँ नयाँ आइडियाले व्यवसायको रूप लिने भन्दै उनले ठूला–ठूला र सफल भएका उद्यम सानो विचारबाट सुरु हुने बताए । उनले भने, ‘नेपालमा समेत व्यवसायिक सफलता सानो प्रयासबाटै सुरु भएको देखिन्छ । यसबाट नै उद्यमशीलताको विकास हुने हो ।’ पुँजीको अभावलाई समेत चिर्न सकिने भन्दै सुवेदीले अर्कोले जोखिम लिइसकेपछि प्रवेश गर्नुभन्दा आफैं सुरुवात गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जनले चीन र भारतको सफलता स्टार्ट अपको विषयमा लिएको नीतिकै कारणले भएको बताए । भारतले समेत स्टार्ट अप जोनहरू सञ्चालन गरेर खर्बौ रुपैयाँ लगानी गरेको दृष्टान्त सुनाउँदै नेपालमा सरकारले गरेको फन्ड निकै न्यून भएको र नीतिगत समस्या पनि रहेको सुनाए । उत्कृष्ट र सम्भावनायुक्त आइडियालाई व्यवसाय सुरु गर्न सहकार्य तथा सहजीकरण गर्दै सङ्घले ब्रिजिङ गर्नेछ । आइडिया स्टुडियोका डाइरेक्टर अफ बिजनेस डेभलपमेन्ट अनिल बस्नेतले देशभरबाट आइडिया सङ्कलन गरेर उत्कृष्टलाई व्यवसायको चरणसम्म लैजन सहयोग गर्दै आएको जानकारी दिए । उद्यमशीलतासँगै रोजगारी बढाउन मद्दत गर्दै आएको सुनाए ।