दिनहुँ भान्सामा पुग्ने गरेको अत्यधिक विषको मात्रालाई सरकारले कहिल्यै घटाउन सकेन । खासगरी तरकारी र त्यसमा पनि तत्कालै उत्पादन भएका वा हुने सागसब्जी वर्गका वस्तुमा सँधै यस्तो विष अत्यधिक मात्रामा रहनेगरेका भनेर सरकारका अनुसन्धानले नै देखाइरहेका हुन्छन् । उनीहरूले दिएकै जानकारीमार्फत घरघरमा यसको सूचना पुग्छ पनि तर त्यसको विकल्प नहुँदा जानिबुझिकन नै हरेकका भान्सामा विष पाक्ने गर्दछ । कतिसम्म भने ग्रामीण भेगबाट आउने यस्ता तरकारीमा अत्यधिक विषको उपभोग स्वयम् उत्पादकहरूका चुल्होमा पनि भइरहेका विभिन्न अध्ययनहरूले देखाइरहेको पाइन्छ । आफ्नो देशकाभन्दा छिमेकीबाट आयात हुने यस्ता वस्तु अधिक विषालु हुने गरेका छन् । कतिपय अवस्थामा त उनकै सिको गरेर यताका उत्पादनहरू पनि अधिक विषाक्त हुनेगरेका अनुभवीहरू बताउँछन् । अहिलेसम्म पनि सरकारले सीमा क्षेत्रमा उचित रूपको परीक्षण गर्न नसकेको गुनासो पोखिइरहेको अवस्था छ । सागपातमा रहेका विषका बारेमा तिनका उत्पादनक्षेत्र पहिचान हुनसके केही हदसम्म रोकथामका काम हुनसक्थे होला । तर अहिले होलसोलमा विषादी परीक्षण हुँदा अधिकांश मात्रामा उत्पादन स्रोत अर्थात् क्षेत्र पहिचान हुनसकेका छैनन् ।
अघिल्लो हप्तामात्रै तरकारीको मुख्यकेन्द्र कालीमाटी बजारमा बेचबिखनका लागि राखिएकामध्ये हरेक घरका भान्सामा प्रयोग हुने रायोसागमा ९९ दशमलव आठ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको थियो । यो कुनै अनौपचारिक बुझाइ होइन । सरकारको प्रतिनिधित्व गरिरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नै यस्तो जानकारी गराएको हो । राष्ट्रकै केन्द्रीय कृषि प्रयोगशालाले यो तरकारी बजारका १५ पसलका १५ थरी तरकारी तथा फलफूल परीक्षण गर्दा रायो सागमा उक्त मात्रामा विषादी भेटिएका थिए । सरकारले योसँग सम्बन्धित निकायले विषादीको यति ठूलो मात्रा भेटिएको उक्त रायोसाग उपभोग गर्न पूर्ण अयोग्य रहेको भनेर जानकारी गरायो तर त्यसको विकल्प नहँुदा यस्तो सूचना पाएर पनि टोलटोलमा यी तरकारी बिक्री भइरहे र घरघरमा पनि पुगिरहे । यही प्रकारको विषदी केही पहिले पनि यही कालीमाटी तरकारी बजारमै भेटिएको थियो । त्यसबेला खानै नहुने भनेर किटानी गरिएको तरकारी थियो हरियो धनियाँ । त्यसमा त शतप्रतिशत मात्रामा नै विषादी भेटिएको भनेर यिनै निकायले बताएका हुन् । केन्द्रिय राजधानीको छिमेकी जिल्ला काभ्रेपलाञ्चोकबाट कालीमाटी बजारमा आएको यस्तो हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको थियो । यो भनेको शतप्रतिशत विषादी हो जसको प्रयोग गर्नै हुदैन भनेर सरकारले सूचना दिइरहेको पाइन्छ तर विष बेच्न भने छाडिएको अवस्था देखिँदैन ।
यो कुनै एकपटकको कुरा होइन । केन्द्रीय कृषि प्रयोगशालाले यही कालीमाटी तरकारी बजारका १७ पसलमा बिक्रीमा राखिएका १७ थरी तरकारी तथा फलफूल परीक्षणमा हरियो प्रकारका तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएको अवस्थामा पनि सरकारले कुनै रोकथामको प्रयास गरको भेटिएन । सरकारको मापदण्डमा अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुनुपर्छ । ३५ देखि ४५ प्रतिशत पाइए त्यसलाई अरू केही उपचार गरेर मात्रै उपभोग गर्न सकिने हुन्छ । जब यस्तो विष शतप्रतिशत नै छ भने त्यसलाई कुनै पनि प्रकारले प्रयोग गर्न नै मिल्दैन ।
उच्च मात्रामा विष प्रयोग गरिएका तरकारी तुरुन्तै नष्ट गरेर त्यसका उत्पादक र बेचबिखन गर्नेलाई पनि कारबाही गर्ने हो भने केही हदसमम नियन्त्रण हुनसक्छ । तर यता सरकारले यस्ता बस्तु उपभोग नगर्न सूचना दिन्छ र उता खुलेआम बेचबिखन गर्न पनि दिइरहेको हुन्छ । केन्द्रीय कृषि प्रयोगशालाका एक वरिष्ठ बाली संरक्षण अधिकृतका अनुसार तरकारीमा विषादी प्रयोग गरेको छ घण्टादेखि २४ घण्टासम्म वेटिङ पिरियड हुन्छ, तर साँझ विषादी छरेर बिहान तरकारी टिपेर बेच्ने गरेको पाइएको छ । यो धेरै खतरनाक अवस्था हो ।
यदि यस्तै हो भने अब यो क्षेत्रमा पनि सरकार कडाइका साथ उपस्थित हुनैपर्छ । त्यसो गरिएन भने सरकारले अझै आफ्ना नागरिकसमक्ष विषको वितरण गरिहेको भन्ने अर्थ लाग्छ ।