काठमाडौं । ‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने मूल नाराको साथ ग्रामीण कृषि उपजलाई बिक्री बितरण गरिरहेको पैँचो पसलले गाउँमै ११औँ वार्षिकोत्सव मनाएको छ ।
गाउँको अर्थतन्त्रलाई कृषि उत्पादनमार्फत चलायनमान गराइरहेको पैँचोले गुल्मीको रुरुक्षेत्र–४ स्थित बलेटक्सारमा केन्द्रीय कार्यलयमा कृषकसँगै वार्षिकोत्सव गरेको हो । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले मानव सभ्यताको विकासको लागि कृषि उत्पादन अपरिहार्य रहेको बताए । ‘विश्वमा जुनसुकै प्रविधि भए पनि मानिस बाँच्नको लागि कृषिमै निर्भर हुनुपर्छ । कृषि सम्मानित पेसाको रुपमा विकास गर्न सकेमात्र देशले समृद्धि हासिल गर्न छ’, उनले भने, ‘पछिल्लो समय अनुदान लिनेले काम नगर्ने तर जो व्यक्ति रातदिन काम गरिरहेको हुन्छ त्यसले अनुदान नपाउने समस्याको कारण कृषि क्षेत्र फस्टाउन सकिरहेको छैन ।’ यस्तै छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले कृषि क्षेत्रमा लगातमा अनुदान दिए मात्र कृषि क्षेत्र विस्तार हुने बताइन् । उनले आफ्नो पालिकाले २८ वटा कृषि उपजलाई उत्पादनको आधारमा अनुदान दिइएको भन्दै कृषि क्षेत्रको विकासको लागि सबैको प्रयास आवश्यक रहेको बताइन् । उनले नेपालको पहाडी क्षेत्र फलफूल र कृषिको लागि अर्गानिक गन्तव्य बनाउनुपर्नेमा जोड दिइन् ।
यस्तै, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष मनी पन्थीले कृषि कर्म गर्नेलाई अगाडि बढाए मात्र देश समृद्धि हुने बताइन् । उनले पछिल्लो समय युवापुस्ता देशबाहिर जाँदा घरमा रहेका महिलाले कृषि गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । पैँचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालमा कृषिमा सम्भावना छ भनेर पैँचोले प्रमाणित गरेको बताए । गुल्मीजस्तो पहाडी भू–भागमा ११ वर्षअघि कम्पनी स्थापना गरेर काम गर्न चुनौती देखिए पनि अहिले गाउँमा जोडिएको सडक सञ्जालले सहज हुँदै गएको बताए । उनले कृषिमा काम गर्नेलाई प्रोत्साहन गर्न नीति बने विदेशमा रहेको युवा जनशक्ति नेपाल फर्किने वातावरण बन्ने बताए ।
पैँचो पसलका प्रबन्ध निर्देशक धु्रवराज न्यौपानेले पैचोले कृषिमा गरेको लगानीले समाज परिवर्तनको लागि नयाँ आयामको थपिएको उल्लेख गरे । लगानीको हिसाबमा कृषिमा चुनौती रहेपछि अर्थतन्त्र चलायामानको लागि ठूलो सहयोग गर्ने बताए । अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तारमा पैँचोले काम गरिरहेको उनको भनाइ थियो । वार्षिकोत्सवको अवसरमा पैँचोले उत्कृष्ट किसान समूहको रुपमा सैयापोखरी किसान समूह, ढाव किसान समूह, जिमी किसान समूह, अस्लेवा किसान समूह, मुसिडाँडा कृषक समुहलाई सम्मान गरेको थियो । यस्तै सर्वोत्कृष्ट कृषकको रुपमा इमान सिंह राना सम्मानित भएका थिए ।