काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोष स्वीकृत गरेको छ । कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरु बिक्रीमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट पुष १३ गते प्रति इकाइ अङ्कित मूल्य १० रूपैयाँ दरको १६ करोड इकाइले हुन आउने कुल एक अर्ब ६० करोड रकम बराबरको फन्ड जारी गर्न अनुमति प्राप्त भएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि १० वर्षको रहेको छ । निष्कासन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको इक्रा नेपाल लिमिटेडबाट कोष प्रबर्द्धनको लागि रेटिङले प्राप्त गरेको र योजना व्यवस्थापकको लागि पनि उच्च गुणस्तरको रेटिङ प्राप्त गरेको छ ।
फन्ड बिक्रीबाट सङ्कलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा निष्कासनपश्चात् लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ । योजना व्यवस्थापकद्वारा सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी चाँडै नै सर्वसाधारणहरुको लागि इकाइहरु बिक्रीमा ल्याउने जानकारी पनि दिएको छ ।