काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वल्र्ड पिस फोरमको आयोजनामा तथा विरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ‘न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ । कार्यक्रम वीरेन्द्रनगर क्षेत्र केन्द्रित भइ आयोजना गरिएको र सो कार्यक्रममा ५० जना विद्यार्थीलाई कम्पनीले ज्याकेट वितरण पनि गरेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै लुम्बिनी वल्र्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई देशव्यापी रूपमा निरन्तर विस्तार गरिँदै जाने प्रतिबद्धता व्यक्त गरे । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई जोड दिँदै वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीले हाल देशभर एक सय ४८ शाखा तथा उप–शाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा योगदान पु¥याउँदै आइरहेको छ ।