बेरुत । संयुक्त राष्ट्र संघका अनुसार सन् २०२५को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार आठ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२६को मेसम्म थप तीन सयभन्दा बढी सैनिक बाहिरिने तयारीमा छन् ।
लेबनानका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसंघव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको बताए । उनका अनुसार सन् २०२५को अगस्टमा पारित सुरक्षा परिषद्को प्रस्ताव २७९०ले मिसनको कार्यकाल सन् २०२६ डिसेम्बर ३१ सम्म विस्तार गरेको छ र त्यसपछि क्रमिक रूपमा सैनिक फिर्ताको व्यवस्था गरेको छ ।
हाल दक्षिणी लेबनानमा करिब ५० देशबाट आएका १० हजार ५ सयभन्दा बढी शान्ति सैनिक तैनाथ छन् । पछिल्लो एक वर्षमा लेबनानी सेनाले लितानी नदीको दक्षिण क्षेत्रमा रहेका अवैध हतियार भण्डारण केन्द्र तथा सम्बन्धित संरचना गरी तीन सय ७० वटा नष्ट गरेको जनाइएको छ । यस कार्यमा संयुक्त राष्ट्रसंघीय मिसनले सहयोग पुर्याएको छ ।
आर्डेलका अनुसार सुरक्षा परिषद्को प्रस्ताव १७०१ कार्यान्वयनमा मुख्य चुनौती लेबनानभित्र जारी इजरायली सैन्य गतिविधि रहेको छ । यद्यपि नोभेम्बर सन् २०२४मा लेबनान र इजरायलबीच उक्त प्रस्ताव कार्यान्वयनप्रति सहमति भएको भए पनि इजरायली स्थल तथा हवाई कारबाहीले स्थायित्वमा बाधा पुर्याइरहेको उनले बताए ।
दक्षिणी लेबनानमा दीर्घकालीन स्थायित्व कायम गर्न लेबनानी सेनाको सुदृढीकरण अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले थप सहयोग र तालिम आवश्यक रहेको धारणा राखे । साथै, उक्साहटपूर्ण अभिव्यक्तिले क्षेत्रीय तनाब अझ चर्किने चेतावनी पनि दिए ।