काठमाडौं । सरकारले ‘आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) उत्थानशील कोष’मा एक पटकका लागि आर्थिक सहयोग गर्ने भएको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले ऐक्यबद्धताका रूपमा ‘आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) उत्थ(ानशील कोष’मा एक पटकका लागि १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र त्यसअन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निक(ायका पदाधिकारीको पारिश्रमिक र सेवा सुविधामा एकरूपता कायम गर्न सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेललाई थाइल्याण्डमा आगामी माघ ८ देखि १३ गतेसम्म आयोजना हुने सुशासन र भ्रष्टाचारविरुद्धसम्बन्धी तालिममा सहभागी हुन स्वीकृति दिइएको छ । संयुक्त राष्ट्र संघ अन्तरिम सुरक्षा बल (यूएनआईएसएफए) मिसन, अवेइमा कार्यरत नेपाली सेनाका रथि गणेशकुमार श्रेष्ठलाई फोर्स कमान्डर पदमा नियुक्त गर्न स्वीकृति दिइएको छ ।
बंगलादेशको ढाकामा आयोजना हुने नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरको आठौँ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ ।
संयुक्त राज्य
अमेरिकामा आयोजना हुने जेन–जी आन्दोलनपछिको विकासमा गैरआवसीय नेपाली युवा भूमिकासम्बन्धी कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति दिइएको छ । राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि सचिवको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिमा मिलनकुमार सरदार थारु र अस्मिता ढुंगाना सदस्य रहेका छन् ।
साउदी अरेबियाको रियादमा आयोजना हुने विश्वव्यापी श्रम बजार सम्मेलन मन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रम, स्वजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृति प्रदान गरिएको छ । नेपाल सरकार र एमर्जेन्ट फरेस्ट फाइनान्स एक्सेलेरेटर, आईएनसीबीच हुने उत्सर्जन घटाउने खरिद सम्झौता स्वीकृत गरिएको छ ।
बैठकले नेपाल प्रहरीको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । बैठकले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन गर्दै प्रहरीको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो । नायब महान्यायाधिवक्ता सूर्यराज दाहाल उमेर हदको कारणले मंगलबारदेखि अनिवार्य अवकाश प्राप्त गरेकोले सरकारले उनको अवकाशको जानकारी दिएको छ । दाहाल २०७१ चैत २ गते नियुक्त भएका थिए ।