काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगल क्षेत्रमा पिकनिकबाट फर्कँदै गरेको एउटा बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार साँझ ५ बजेर ४५ मिनेटमा बस सडकबाट करिब १०० मिटर तल खसेर रुखमा अड्किएको हो ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको एसपी भट्टराईले बताए । बसमा करिब ३५ देखि ४० जना सवार थिए । उनीहरू ‘नेचर हब’ नामक संस्थाका कर्मचारीहरू रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २२ जनालाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज र अत्तरखेललगायतका अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।