सामान्यता ६० वर्षमाथि उमेर पुगेका समूहलाई बुढ्यौली अवस्था भनिन्छ । उमेरसँगसँगै शरीरमा विभिन्न प्रकारका स्वाथ्यसमस्याहरू देखा पर्छन् । विशेषगरी वृद्धावस्थामा लाग्ने रोगहरूलाई उमेरअनुसार शरीरमा आएको सामान्य परिवर्तन सोची हेलचेक्रयाइँ गर्ने गरेको देखिन आउँछ । वृद्धाश्रममा प्रायः सबै कुनै न कुनै स्वास्थ्य समस्याले ग्रस्त रहेका तथा निरन्तर औषधी सेवन गरिरहेका छन् । बुढाबुढी अवस्थामा धेरै सताउने रोगमध्ये दम र मधुमेह पनि एक हो । शरीरको प्यान्क्रियाजबाट निस्कने इन्सुलिन नामको ग्रन्थिरस कम भएर वा यसले गर्नुपर्ने काममा रोकावटआइ रगतमा ग्लुकोजको मात्रा बढेर मध्मेह हुने गर्छ । यो एक दीर्घरोग हो, यसले विश्वको ठूलो जनसंख्यालाई प्रभाव पारेको छ । विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कअनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो बढेर ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । (२०६६ कार्तिक १५) बुढ्यौलीपनले छोएपछि स्वास्थ्यमा धेरै किसिमका रोगले च्याप्ने गर्छ । त्यसमध्ये दम मुख्य रोग नै हो । सबैभन्दा बढी वृद्धवृद्धालाई दमको समस्याले ग्रस्त बनाएको छ । श्वासप्रश्वासको प्रमुख अंग फोक्सोमा कुनै रोगका कारण असर परेर श्वासप्रश्वासमा उत्पन्न हुने समस्या वा अप्ठेरो नै सामान्य अर्थमा दम हो । यो वास्तवमा कुनै रोग नभएर विभिन्न रोगहरूको लक्षण हो । यसको प्रमुख कारण फोक्सोमा कुनै कारणबाट हुने खराबी हो । यही फोक्सो बिग्रिएर रगतमा पुग्ने अक्सिजनको प्रवाहमा गडबडी उत्पन्न भएमा श्वास फेर्न गाह्रो हुन्छ । हरेक नागरिकप्रति राज्यको निश्चित् दायित्व हुन्छ । त्यसमा पनि वृद्धवृद्धाप्रति विशेष जिम्मेवारी हुनु स्वाभाविक हो । सबै नागरिकले उमेर हुन्जेल देशको लागि केही न केही गरेका हुन्छन् नै । नागरिकको राज्यप्रति कर्तव्य भएझैँ राज्यको पनि व्यक्तिप्रति जिम्मेवारी हुन्छ । विशेषतः यो जिम्मेवारी वृद्धावस्थाका नागरिकप्रति रहन्छ । श्रम र शक्तिमा कम हुने वृद्धवद्धालाई विशेष हेरचाहको आवश्यकता हुन्छ । कार्यक्षमतामा कमी हुने भएकाले आर्थिक रूपमा पनि उनीहरू कमजोर रहन्छन् । यसको कारण परिवार, समाजबाट पनि पर्याप्त माया–ममता, प्रतिष्ठा, स्याहारसुसार पाउँदैनन् । व्यस्त र यान्त्रिक जीवनशैलीका कारण संयु्क्त परिवारको चलन हराउँदै गइरहेको छ ।
साठी वर्षभन्दा माथिका उमेरका ज्येष्ठ नागरिकहरूलाई आर्थिक हिसाबले ‘निष्क्रिय’ जनसंख्या मान्ने चलन छ । तर नेपालमा सबै ज्येष्ठ नागरिकका लागि यो परिभाषा लागू हुँदैन । सन् २००८ मा नेपालमा गरिएको श्रम सर्वेक्षणको नतिजाले देखाएअनुसार यस्ता ज्येष्ठ नागरिकहरूको नेपालको कुल श्रमशक्तिमा ०.६% योगदान छ (राष्ट्रिय श्रमशक्ति सर्वेक्षण, २००८) । ग्रामीण क्षेत्रमा बस्नेमात्र होइन, सहरी क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको स्थिति पनि दयनीय छ । बढ्दो आधुनिकता र प्रविधिले गर्दा घरभित्रकै युवापुस्ता र बालबालिकाहरूसँगको हजुरबा, हजुरमाको सम्बन्ध टाढिँदै गएको छ । अझ धेरैजसो युवा–युवतीहरू उच्च शिक्षा तथा गुणस्तरीय शिक्षा र राम्रो कामको लागि घर–परिवार छाडेर बाहिरिनुपर्ने बाध्यता पनि छ । यसले गर्दा पनि उनीहरूले आफ्ना बाबु–आमाको राम्रो हेरचाह गर्न र सँगै बस्न नपाउने स्थिति छ । फलस्वरुप वृद्ध बाबु–आमाहरूले नितान्त एक्लिएको महसुस गर्ने, एक्लै–एक्लै बसेर जीवन गुजारा गर्नुपर्ने हुन्छ । अझ हातखुट्टा राम्रोसँग नचल्दा र शरीरको राम्रो हेरचाह नपुग्दा आवश्यक काम पनि गर्न नसक्ने जस्ता अनेक मानसिक तथा शारीरिक तनावहरू उत्पन्न हुने गर्छन् । कतिपय ज्येष्ठ नागरिकहरूले काम गरिरहे पनि उनीहरूले काम अनुसारको ‘दाम’ भने नपाएको स्थिति छ । गाउँघरमा जस्तो सहरी क्षेत्रका पाका व्यक्तिहरू उत्पादनशील काममा लाग्ने गरेको कमै पाइन्छ । घरभित्रको काम गरेपनि आम्दानीमूलक काम उनीहरूसँग हुँदैन । जसले गर्दा आफूले खर्च गर्न मन लागेको बेला खर्च गर्न उनीहरूले पैसा पाउँदैनन् । यसरी सहरमा बस्ने ज्येष्ठ नागरिकहरू पनि अनेक समस्याले जेलिएका छन् ।
जेष्ठ नागरिकहरूको व्यवहारिक अनुभवको महत्वमा
१. वृद्धहरूले आफू सक्रिय भएर काम गर्न सक्दैनन् तर काम कसरी गर्दा प्रभावकारी हुन्छ भनी युवाहरूलाई सिकाउन सक्छन्, २. वृद्धहरूसँग बितेको समयको ज्ञान र अनुभव हुन्छ, जसलाई हामी इतिहासका रूपमा अध्ययन गर्न सक्छौँ । ३. वृद्धहरूलाई सिर्जनात्मक काममा लगाई देश विकासमा सहभागी गराउन सकिन्छ । ४. हामीलाई परम्परागत मूल्य, मान्यता, रितिरिवाज आदिका बारेमा ज्ञान प्राप्त हुन्छ । ५. वृद्धहरू हामीलाई जीवन प्रदान गर्ने जन्मदाता हुन् र हाम्रो भविष्य राम्रो बनाउने कार्यमा उनीहरूको सक्रिय भूमिका रहन्छ । ६. वृद्धहरूबाट परिवारमा बालबच्चाको उचित हेरचाह र ठूलाले आवश्यक सुझाव र सहयोग प्राप्त गर्दछन् ।
नेपालको संविधान २०७२ ले ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ । मानसिक स्वास्थ्य समस्याका बारेमा कुरा गर्दा यो एउटा जोखिमको उमेर हो । विश्व स्वास्थ्य संगठनले ६० वर्ष वा सोभन्दा माथिका लगभग १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मानसिक विकारबाट पीडित छन् भन्ने तथ्य प्रस्तुत गरेको छ । ज्येष्ठ नागरिकमा देखापर्ने मानसिक समस्यामा उदासीनता, चिन्ता, तनाव, आघात, समायोजन, लागु पदार्थ दुरुपयोग आदि पर्दछन् । सामान्यतया यो अवस्थामा मानसिक स्वास्थ्यमा समस्या बढ्नुका केही कारणमा शारीरिक परिवर्तन, एक्लोपन, परनिर्भरता, अवकाश पछिको योजना नहुनु साथै शारीरिक रोगहरू र अनिद्रा आदि पर्दछन् । त्यस्तै अहिलेको समयानुकूल नयाँ प्रविधिबारे जानकार नहुँदा र बढी चिन्ता लिने बानीले गर्दा पनि ज्येष्ठ नागरिकमा मानसिक समस्याले सताउने गरेको पाइएको छ ।
नेपालको सन्दर्भमा विगतको तुलनामा बुढ्यौली जनसङ्ख्यामा वृद्धि हुँदै गएको पाइन्छ । तथ्याङ्कअनुसार नेपालमा कुल जनसङ्ख्याको करिब ८ प्रतिशत जनसङ्ख्या बुढ्यौली रहेको देखिन्छ । जसमध्ये पनि प्रत्येक १० जनामा ६ जना ६०—७० को उमेर समूहमा रहेका छन् भने जम्मा बुढ्यौली जनसङ्ख्यामा पाँच भागको एक भाग बुढ्यौली जनसङ्ख्या ७५ वर्ष माथिको रहेको छ । बुढ्यौली जनसङ्ख्याको सूचकको रूपमा लिइने मध्य उमेर नेपालमा २२.२३ वर्ष रहेको छ । यस कारण नेपालको जनसङ्ख्याको मध्य उमेर २० वर्षमाथि भएकाले यो जनसङ्ख्या बुढ्यौली उन्मुख जनसङ्ख्या हो । सन् २०२१ को विश्व जनसङ्ख्या तथ्यांक तालिकाका अनुसार नेपालको औषत आयु पुरुषको ७१ वर्ष र महिलाको ७३ वर्ष रहेको छ । यसैगरी वृद्ध आश्रित अनुपात सन् २०२१ को जनगणनाअनुसार १४.०६ रहेको छ भने बुढ्यौली जनसङ्ख्याको लैङ्गिक अनुपात २००१ मा १०१ र २०११ मा ९८ रहेकोमा २०२१ मा ९४ रहेको छ । यसैगरी बुढ्यौली सूचकांक सन् २०२१ को जनगणनाअनुसार ३६.७ रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशित गरिएको राष्ट्रिय जनगणना २०७८ को मुख्य नतिजामा उल्लेख गरिएअनुसार कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । गत २०६८ सालमा यो उमेर समूहका जनसङ्ख्या ५६.९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसङ्ख्या क्रमशः २७.८३ प्रतिशत र १०.२१ प्रतिशत रहेको छ । ज्येष्ठ नागरिकसम्बन्धी पहिलो विश्व सम्मेलन सन् १९८२ जुलाई २६ देखि अगस्ट ६ सम्म अस्ट्रियाको भियनामा भएको थियो । दोस्रो सम्मेलन सन् २००२ अप्रिल ८ देखि १२ स्पेनको म्याड्रिडमा सम्पन्न गरियो । सन् १९९० मा बसेको संयुक्त राष्ट्रसंघ महासभाले प्रत्येक वर्ष १ अक्टोबरलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । पारित प्रस्तावमा वृद्धवृद्धाहरूका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । (अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र, भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) हुन्)