काठमाडौं । रौतहटको सदरमुकामस्थित गौर प्रादेशिक अस्पतालमा वर्ल्डलिंले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ ।
कम्पनीले बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सुविधालाई मध्यनजर गर्दै निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको हो । अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउने हिसाबले वर्ल्डलिंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको विभिन्न तल्लाहरूमा इन्टरनेट जडान गरिदिएको छ । वर्ल्डलिंकले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन मुख्य चारवटा स्थानहरूमा वाइफाइ जडान गरेको छ । अस्पताल प्रवेश गर्ने स्थान र गेटबाहिर प्रतिक्षारत सेवाग्राहीहरूलाई सञ्चारमा सहजता हुने हिसाबले मेन गेटमा वाईफाई जडान गरेको छ भने ओपिडी र प्रशासन शाखामा टिकट काट्न वा रिपोर्ट लिन पालो कुरिरहेका बिरामीहरू लाभान्वित हुने हिसाबले पहिलो तल्लामा इन्टरनेट जडान गरिदिएको छ ।
त्यसैगरी वार्डहरूमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाहरूलाई सञ्चार सुविधा पुग्ने हिसाबले दोस्रो तल्लामा पनि वाईफाई जडान गरिएको छ । साथै अस्पतालको माथिल्लो तलामा समेत कभरेज सुनिश्चित गरी पूरै भवनभरि इन्टरनेटको पहुँचको लागि तेस्रो तल्लामा सेवा विस्तार गरिएको छ । फ्री वाइफाइ जडान भएपछि निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा आएपछि बिरामीहरूले आफ्नो मोबाइलमै डिजिटल ल्याब रिपोर्टहरू हेर्न र डाक्टरलाई देखाउन अति सजिलो हुने स्थानीय केशव झाले बताए ।