वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रिनल्यान्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्यान्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएका छन् ।
तेल कम्पनीका कार्यकारीसँग भेनेजुएलामा तेलका लागि लगानी गर्ने बिषयमा ह्वाइट हाउसमा आयोजित भेटमा राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरूले यो मन पराउन् वा नपराउन् हामी ग्रिनल्यान्डमा पनि केही गनेछौँ । म एक सम्झौता गर्न चाहन्छु । यदि हामीले सहज तरिकाले सम्झौता गर्न सकेनौँ भने हामी यसलाई कठिन तरिकाले भएपनि गरिछाड्नेछौँ ।’
एएफपीका अनुसार राष्ट्रपति ट्रम्पले आर्कटिकमा रुस र चीनको बढ्दो सैन्य गतिविधिलाई मध्यनजर गर्दै खनिजको धनी टापुलाई नियन्त्रण गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले भने, ‘हामी ग्रिनल्यान्ड रूस वा चीनले कब्जा गरेको देख्न चाहँदैनौँ । यदि हामीले त्यसो गरेनौँ भने उनीहरूले के गर्न सक्छन्, यो विचार गर्नुपर्ने बिषय हो । त्यसैले हामी ग्रिनल्यान्डलाई सहज वा कठिन तरिका जसरी हुन्छ संरक्षण गर्नुपर्छ ।’
चीन र रूस दुवै देशले हालैका वर्षहरूमा आर्कटिक क्षेत्रमा सैन्य गतिविधि बढाएका छन्, तर दुवैले विशाल हिम टापुमा कुनै दाबी गरेका छैनन् । डेनमार्क र अन्य युरोपेली सहयोगीहरू ट्रम्पको ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने चेतावनीबाट स्तब्ध भएका छन् । ग्रिनल्यान्डमा संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको छ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रिनल्यान्डमाथिको आक्रमणले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) र दोस्रो विश्वयुद्धपछिको सुरक्षा संरचनाको अन्त्य हुने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले सन् २००३ मा इराकमाथि भएको आक्रमणमा अमेरिकासँग सामेल भएको अमेरिकाको दृढ सहयोगी डेनमार्कको चिन्ताप्रति आश्वासन दिने कोशिस गरेका थिए । ट्रम्पले भने, ‘म डेनमार्कको प्रशंसक पनि हुँ, तपाईंलाई थाहा पनि छ, उनीहरू मसँग धेरै सकारात्मक छन् । तर तपाईंलाई थाहा छ, तथ्य यो हो कि ५०० वर्ष पहिले उनीहरूको त्यहाँ डुङ्गा भूमि थियो यसको मतलब यो होइन कि उनीहरूको जमिनको स्वामित्व छ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रिनल्यान्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ ।