यो पङ्तिकारको विचारमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउनका लागि भनेर मुखले मात्रै यस्तो गर्ने, उस्तो गर्ने भन्नुभन्दा पनि ‘स्किम’सहितको विभिन्न कार्यक्रम र योजनाहरु ल्याउनुपर्ने देखिन्छ । अन्यथा नेपाल सरकार एवं नेपाली पर्यटन क्षेत्रका हस्ती मानिएका व्यवसायीहरुले वार्षिक रुपमा ‘यति लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, उती लाख विदेशी भित्र्याउने’ भनेर मुखले मात्रै औपचारिकता पूरा गर्नका लागि भनिरहने हो भने मेरो भन्नु केही पनि छैन ।
हो, नेपालमा विदेशी पर्यटकको संख्या बढाउनका लागि ‘स्किम’सहितको विभिन्न कार्यक्रम र योजनाहरु ल्याउने सन्दर्भमा कुरो गर्दा सरकारले के गर्न सक्छ, निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले के गर्न सक्छ ? भन्ने सम्बन्धमा पनि प्रष्ट हुनुपर्ने जरुरी रहेको देखिन्छ । त्यसरी हेर्दा नेपाल सरकारले गर्न सक्ने भनेको नेपाल भ्रमण गर्न आउँने विदेशी पर्यटकलाई निःशुल्क भिसा उपलब्ध गराउन सक्छ । त्यस्तै गरेर नेपाली पर्यटन क्षेत्रका हस्ती मात्रै नभएर मेरुदण्ड नै मानिएका पर्यटन व्यवसायीहरुले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकलाई लक्जरी, डिलक्स एवं तारे तथा स–साना पर्यटकस्तरीय होटल, लज, गेस्ट हाउस, कटेज अनि होमस्टे सञ्चालकहरुले बेड र खानामा, रेस्टुरेन्ट, पब, डिस्कोलगायत मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नेहरुले पनि खानाका परिकार र पेय पदार्थमा सक्दो छुटको व्यवस्था गर्ने तथा प्रवेश शुल्क लाग्ने कार्यक्रम भए त्यस्ता कार्यक्रममा प्रवेश शुल्क नलिने गर्न सक्छन् । एवं प्रकारले ट्रेकिङ एजेन्सी, ट्राभल एन्ड टुर एजेन्सी, ¥याफ्टिङ एजेन्सी, हवाइ सेवा कम्पनी, प्याराग्लाइडिङ, बालुनिङ गर्ने कम्पनी, ग्लाइडर कम्पनी, स्काइ डाइभ, कायाकिङ अपरेटरहरुले पनि आफ्नो तर्फबाट दिन सक्ने हदसम्मको छुट एवं केही पर्यटकलाई निःशुल्क रुपमा सर्भिस दिन सक्छन् ।
यो कुरो मैले किन गरेको हो भने, हामी नेपालीहरुले वार्षिक रुपमा ‘यति लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, उती लाख विदेशी पर्यटक भित्र्याउने भनेर संख्या तोकेर नै नेपाल भ्रमण वर्ष, पर्यटन वर्ष, पर्वतीय पर्यटन वर्ष, लुम्बिनी भ्रमण वर्षलगायत विभिन्न वर्षका साथै पर्यटन प्रवर्द्धन गर्ने हिसाबले धेरै पटक औपचारिक कार्यक्रमहरु गरिसकेका छौँ । तर तोकेको संख्या अर्थात् लक्ष्य पूरा भएको कुनै वर्ष रहेको छैन । बढीमा ६०–६५ प्रतिशतदेखि ७५–८० प्रतिशतम्म लक्ष्य मात्रै हासिल भएको देखिन्छ, संख्याको हकमा । तर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको बसाई अवधिमा चाहिँ सन्तोषजनक स्थिति रहेको मान्न सकिने अवस्था रहेको छ । किनभने, अहिलेसम्म नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको बसाई अवधि प्रति व्यक्ति प्रति दिन १३ दिनदेखि १५.३ सम्म पुगेको छ । तर नेपाल भ्रमणमा आएका विदेशी पर्यटककले प्रति व्यक्ति प्रति दिन खर्च गराई चाहिँ ४०.४ अमेरिकी डलरदेखि ४४.५ अमेरिकी डलरसम्म मात्रै पुगेको देखिन्छ । हुन त एक वर्ष अर्थात् सन् २०२० मा चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटककको प्रति व्यक्ति प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर पुगेको थियो । स्मरणीय छ, सो वर्ष केवल एक लाख ५० हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।
त्यसैले केही वर्ष विदेशी पर्यटकलाई नेपालतर्फ आकर्षित गर्नका लागि विभिन्न खालका प्याकेज ल्याउनुपर्ने देखिन्छ । उदाहरणका लागि भन्नुपर्दा उमेर समूह छुट्याएर जस्तै ६०–६५ वर्षभन्दा माथिका वृद्ध विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा केकस्ता सहुलियत दिन सकिन्छ ? त्यसै गरिकन ६५ वर्षदेखि ७० वर्षसम्मका वृद्ध विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा केकस्ता सहुलियत दिन सकिन्छ ? एवं ७० वर्षदेखि ७५ वर्षसम्मका वृद्ध उमेरका विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा केकस्ता सहुलियत दिन सकिन्छ ? अनि ७५ वर्षदेखि ८० वर्ष उमेर समूहका वृद्ध विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा त्यो उमेर समूहका विदेशी पर्यटकलाई कस्तो प्रकारको सहुलियत दिन सकिन्छ ? एवं प्रकारले ८० वर्षदेखि ८५ वर्षसम्मका वृद्ध विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा कस्तो सहुलियतहरु दिन सकिन्छ त ? साथै ८५ वर्षभन्दा माथिका विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा केकस्ता सहुलियत दिन सकिन्छ, हामीले वर्गीकरण (क्याटगोराइज) गरेर प्याकेज ल्याउनुपर्ने देखिन्छ । साथै, विश्वविद्यालय पढ्दै गरेका विदेशी विद्यार्थीहरुको समूह पर्यटक भई नेपाल घुम्न आएमा उनीहरुलाई केके सहुलियत दिने, स्कुल–कलेज पढ्दै गरेका विदेशी विद्यार्थी पर्यटकका रुपमा नेपाल घुम्न आएमा त्यस्ता विद्यार्थीहरुको समूहलाई केकस्ता छुट अनि सहुलियत दिने ? विदेशी बालबच्चाहरु (१४–१५ वर्ष मुनीका उमेर समूहका केटाकेटीहरु) पर्यटकका रुपमा नेपाल भ्रमण गर्न आएमा केके छुट र सहुलियत दिने ? र विदेशी पर्यटकको नव विवाहित जोडी पर्यटक भई नेपाल भ्रमण गर्न आएमा के र कस्ता सहुलियत दिने भन्ने बारेमा हामीले छलफल गरेर कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।
पढ्दा र सुन्दा स–साना लाग्ने यस्ता विषयमा हामीले छलफल र बहस गर्न किन पनि जरुरी देखिन्छ भने, भुटान जस्तो संख्यात्मक रुपमा विदेशी पर्यटक बढाउने मात्रै होइन, गुणस्तरीय पर्यटकमा विशेष ध्यान दिने देशले पनि आफ्नो देशमा भ्रमण गर्न आउँने विदेशी पर्यटक बढाउनका लागि नै हुनुपर्छ, अनेकौँ प्रकारका सहुलियत, छुट र अन्य प्याकेजहरु लागू गरेको छ ।
मैले ‘स्किम’सहितको विभिन्न कार्यक्रम र योजनाहरु ल्याउनुपर्ने कुरो गर्दा नेपाल सरकार एवं नेपाली पर्यटन क्षेत्रका हस्ती मानिएका व्यवसायीहरुले पनि विदेशी भित्र्याउनका लागि सन् २०२३ मा हङकङ सरकारले आफ्नो भूमिमा विदेशी पर्यटकको आगमन दर बढाउने उपायको रुपमा ‘हेल्लो हङकङ !’ भन्ने मुख्य स्लोगनसहित पाँच लाख विदेशी पर्यटकलाई निःशुल्क हवाइ टिकट उपलब्ध गराएको थियो । जसको मकसद कोरोना महामारी लगत्तै हङकङमा बढीभन्दा बढी पर्यटक भित्र्याउने रहेको थियो । त्यसैले हङकङ सरकारले ‘हेल्लो हङकङ !’ ल्याएको थियो भने, हङकङ सरकारले ल्याएको सो कार्यक्रमले आफ्नो भूमिमा सन् २०२३ मा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउन अत्यन्तै सफलता पूर्वक लागू भएको थियो । हङकङ सरकारले आफ्नो भूमिमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउने एक उत्तम उपायको रुपमा लागू गरेको सो कार्यक्रमबारे ‘साउथ चाइना मर्निङ पोस्ट’, ‘चाइना डेली’लगायत समाचारपत्र र अनलाइन संस्करणले पनि समाचार प्रकाशित गरेर सरकारलाई साथ दिएको थियो । हङकङ सरकारले आप्mनो भूमिमा विदेशी पर्यटक बढाउने उपायको रुपमा जुन ‘हेल्लो हङकङ !’ भन्ने मूल नारासहित ‘निःशुल्क’ हवाइ टिकट उपलब्ध गराएको थियो, त्यसमा जोडी वा परिवार भएका विदेशी पर्यटकले आफ्ना बालबच्चा वा आफन्तलाई पनि सँगै भ्रमण गर्न ल्याएका थिए । जसको फल स्वरुप हङकङ सरकारले अतिरिक्त आमदानी गर्न पाएको थियो ।
पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा कोरोनामा महामारी साम्य भएपछि लगत्तैको वर्षमा एक देश दुई व्यवस्था रहेको चीनको प्रशासनअन्तर्गत रहेको दक्षिण–पूर्वी एसियामा अवस्थित हङकङले आफ्नो भूमिमा विदेशी पर्यटकको आगमन बढाउने उपायका रुपमा सन् २०२३ मा ‘हेल्लो हङकङ !’ भन्ने प्रमुख नारा अर्थात् स्लोगनसहित पाँच लाख विदेशी पर्यटकलाई निःशुल्क हवाइ टिकट उपलब्ध गराएको थियो । हो, हङकङ सरकारले आफ्नो भूमिमा सन् २०२३ मा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या धेरैभन्दा धेरै पुर्याउने उपायको रुपमा घोषणा गरेको सो विशेष कार्यक्रमलाई हङकङ, मकाउ, मलेसिया, चीनलगायत देशको समाचारपत्र एवम् अनलाइन संस्करणले पनि महत्वका साथ समाचार प्रकाशित गरेर साथ दिएको थियो ।
त्यसैले हामी (नेपाल)ले पनि हाम्रो देश नेपालमा विदेशी पर्यटक संख्या बढाउनका लागि केवल मुखले मात्रै ‘नेपालमा वार्षिक रुपमा यत्ति लाख उत्ति लाख विदेशी पर्यटक भित्र्याउने !’ भनेर घोषणा नगरेर नेपाल अबका दिनमा आउने विदेशी पर्यटकको संख्या कति जना भएमा केकस्ता सहुलियत दिन सकिन्छ त ? कस्ता खालका विदेशी पर्यटक भए केकस्ता सहुलियत दिन सकिन्छ ? भन्ने सम्बन्धमा पनि हामीले छलफल र बहस गरेर केही न केही सहुलियत तथा छुटका साथै विभिन्न प्याकेजका कार्यक्रम ल्याउँदा धेरै राम्रो हने देखिन्छ ।