माघे संक्रान्ति नेपालको प्रमुख साझा पर्व हो । जसले सूर्यको उत्तरायण अर्थात् मकर राशिमा प्रवेशलाई चिह्नित गर्छ । यस दिन घिउ, चाकु र तरुलको विशेष महत्व हुन्छ । जसलाई भन्ने नै हो भने परम्परागत रूपमा यिनलाई खाँदा जाडोमा शरीर तातो राख्ने, पोषण प्रदान गर्ने र स्वास्थ्य लाभ दिने विश्वास गरिन्छ । वस्तुतः नेपाल एउटा कृषि प्रधान देश हो । जहाँ करिब ६५ प्रतिशत जनसंख्या प्रत्यक्ष रूपमा कृषिमा संलग्न छ र कुल जीडीपीको ठूलो भाग कृषि र त्यससँग सम्बन्धित वस्तुहरूले उपलब्ध गराउँछन् । फलतः मुलुकमा खाद्य, परम्परागत उत्पादन र मौलिक नेपाली उत्पादनले स्थानीय आवश्यकता मात्र होइन, रोजगार र आर्थिक गतिविधिमा पनि महत्वपूर्ण भूमिका खेल्दछन् । त्यसैगरी घिउ, चाकु र तरुलजस्ता उत्पादनहरू पनि केवल स्थानीय खानामा मात्र सीमित छैनन् । यिनले देशको कृषिमा आधारित अर्थतन्त्रको महत्वपूर्ण अंश बन्ने क्षमता राख्दछन् ।
नेपालमा घिउ परम्परागत रूपमा दूधबाट बनाइने एक महत्वपूर्ण खाद्य वस्तु हो । जो परिवार, संस्कार र चाडपर्वमा विशेष स्थान राख्दछ । यसरी घिउ बनाउनु दूध प्रशोधनको उच्चतम चरण मानिन्छ । जहाँ दूधबाट पहिले दहीलाई फटाएर घ्यूउ निकालिन्छ र अन्ततः घिउ उत्पादन हुन्छ । नेपालको ग्रामीण अर्थतन्त्रमा घिउ घरायसी उत्पादनको रूपमा मुख्य स्रोत पनि हो । यो विशेषगरी पहाडी र गाउँठाउँहरूमा जहाँ पशुपालन प्रमुख आय स्रोत हो । नेपालमा वार्षिक दुग्ध उत्पादन सन् २०२२/२३ मा लगभग २१ लाख मेट्रिक टन छ । यस दुधको एउटा ठूलो भाग घरायसी र साना उद्यमहरूमा दही, मोही र घिउ बनाउन प्रयोग हुन्छ । केन्द्रीय तथ्यांक विभाग (सीएसबी) को अनुमानअनुसार, देशभरि हजारौँ घरपरिवारले आफ्नो उपभोग र स्थानीय बिक्रीको लागि घिउ उत्पादन गर्छन् । अन्य खाद्यान्नभन्दा घिउ बजारमा बेचिने उच्च मूल्यको वस्तु हो । जुन स्थानीय बजारमा यसको मूल्य प्रति लिटर एक हजार दुई सयदेखि एक हजार चार सय रूपैयाँसम्म नेपाली बजार भाउ रहेको छ । जुन सामान्य दूध भन्दा धेरै उच्च छ । यसले साना किसानहरूलाई दूधबाट अधिक मूल्य थप्दछ । जसरी घिउ उत्पादन प्रक्रियामा दूध उत्पादन, संकलन, दही जमाउने, मथ्ने र प्याकेजिङ्गजस्ता चरणहरू समावेश छन् । जसले ग्रामीण क्षेत्रमा, विशेषगरी महिलाहरूको लागि, रोजगारी सिर्जना गर्छ । नेपालले घिउको औपचारिक निर्यात गर्दैन, तर भारतसँगको खुला सीमाबाट अनौपचारिक व्यापार भने भइरहने गरेको छ । यसको उच्च मूल्यले यसलाई साना पैमानामा सीमापार किनबेजको लागि आकर्षक बनाउँछ । आयातमा भने डिब्बाबन्द घिउ/बटरको केहि मात्रा आउँछ । तर स्थानीय उत्पादनको प्रभुत्व रहेको छ । देशमा घिउ उत्पादन अहिलेसम्म व्यवस्थित रूपमा विस्तृत सरकारी तथ्यांक उपलब्ध छैन । तर बजारको अध्ययन र अन्तर्राष्ट्रिय विश्लेषणले सन् २०२२ मा करिब ३६ हजार टन घिउ उत्पादन भएको तथ्यांकमा देखाइएको थियो । जहाँ यी उत्पादनले ग्रामीण रोजगारी र स्थानीय आवश्यकतालाई मुख्य रूपमा पूरा गरिरहेको थियो । यसले संकेत दिन्छ कि नेपालमा घिउको उत्पादन निरन्तर वृद्धिमा छ र परम्परागत तरीकालाई आधुनिक प्रसोधन र बजारसँग जोडेर अझ बढाउन सकिन्छ । फलतः राष्ट्रमा घिउको माग सधैँ उच्च रहँदै आएको छ । अझ यो विशेषगरी चाडपर्व र विशेष परिकारहरूमा बढी प्रयोग हुँदै आएको छ । तर उत्पादनले सधैँ माग पूरा गर्न नसक्ने समस्याहरू देखा पर्छन् । उदाहरणका लागि, राजधानी काठमाडौँमा उत्पादन सीमित हुनुका कारण गाह्रो उपलब्धता र आपूर्ति कमीको समस्यासमेत देखा परेको छ । जसले गर्दा बजारमा घिउको मूल्य वृद्धि र आपूर्ति जस्ता सन्दर्भहरूलाई जन्म दिएको छ ।
चाकुु नेपालमा परम्परागत मिठाइको रूपमा प्रसिद्ध छ । यसर्थ चाकु विशेषगरी माघे संक्रान्ति जस्तो पर्वमा यसको माग अत्यधिक हुन्छ । तसर्थ चाकुको उत्पादन उखुको रस/गुड, तील, अदुवा/घिउ, काजु/नट्सजस्ता पोषक तत्वयुक्त सामग्रीबाट बनेको हुन्छ र यसले ऊर्जाशक्ति दिने खानाको रूपमा मानिसहरूमा लोकप्रियता पाउँछ । यसरी चाकुको बजारमा खासगरी सिजनल माग बढ्छ । जबकी माघे संक्रान्ति जस्तै चाडपर्वहरूमा यसको माग धेरै हुने र आपूर्ति कम हुनाले मूल्य वृद्धि हुन्छ । उदाहरणका लागि, काठमाडौँ उपत्यकामा माघे संक्रान्ति नजिकिँदै गर्दा चाकुको माग करिब दुईगुणाले बढेको विभिन्न निकायका रिपोर्टहरूमा उल्लेख गरिएको छ । यसले देखाउँछ कि, परम्परागत खाद्य वस्तुमा पनि मौसमी बजार गतिशीलता हुन्छ, र यसले साना व्यवसायीलाई छोटो अवधिमा ठूलो आम्दानी दिने अवसर पनि प्रदान गर्दछ । जसरी चाकुको उत्पादन प्रक्रियाले श्रम–गहन र समय–लाग्ने हुन्छ । जुन गुड पगाल्ने, तरलता मिलाउने, आकार दिने आदि सबै चरण हातको श्रममा आधारित हुन्छन् । यसैले यो स्वतःस्फुर्त–उद्योगमा आधारित उद्योगको रूपमा रहँदै आएको छ र आधुनिक उत्पादन प्रविधिसँग सामंजस्य नभएसम्म यसको मात्रा र गुणस्तर दुवै सीमित रहन्छ । यो चाकुको बजार विस्तार केवल नेपालभित्र सीमित छैन टोखाजस्ता स्थानबाट उत्पादित चाकु नेपालका अन्य सहरहरू र सम्भावित रूपमा निर्यात बजारतिर पनि पठाइरहेका समाचारहरू छन् । जसलेगर्दा चाकु उत्पादनमा प्रमुख व्यापारीहरू र सहकारीहरूले उत्पादन क्षमता बढाएर बजार विस्तार गर्दा धेरै रोजगारी सिर्जना गर्न सक्छन्, विशेष गरी युवाहरूलाई सिजनल रोजगार प्रदान गरेको हुन्छ ।
देशमा तरुल जस्तो परम्परागत फसललाई व्यावसायिक उत्पादन र प्रशोधन दिशामा लैजान सकिएमा यसले कृषि आय र ग्रामीण रोजगारीमा थप योगदान पुर्याउन सक्छ । तसर्थ अन्य बाली, तरकारीमा जस्तै तरुलमा पनि किसानले मूल्य नपाउने तर बिचौलियाले प्रशस्त मूल्य लिने गरेका छन् । पछिल्ला वर्षमा मूल्य कम हुँदै गएको र उत्पादन गर्न दुःख पनि असाध्यै हुने भएकाले तरुल खेती गर्ने किसान जिल्लामा घट्दै जान थालेका छन् । तरुललाई माघेसङ्क्रान्तिमा फलाहारका रूपमा खाने गरिन्छ । यसरी मजदुरलाई तरुल खन्दा प्रतिकिलो आठ रुपियाँ दिनु पर्छ । व्यापारीले यहाँदेखि काठमाडौँ पुर्याएको तरुल गएको वर्ष प्रतिकेजी एक सय रुपियाँसम्म बिक्री हुने गरेकोमा यस वर्ष ६० रुपियाँभन्दा बढी मूल्य नपाएको गुनासो गरेका छन् । पछिल्ला वर्षमा देशका अन्य ठाउँबाट पनि तरुल काठमाडौँ पुग्न थालेको र उपभोक्ताले समेत कम खरिद गर्न थालेपछि मार परेको व्यापारीले बताएका छन् । वस्तुतः मुलुकमा तरुल÷शकरकन्दको औपचारिक तथ्यांक कम छ । देशमा यसको उत्पादन स्थितिलाई अवलोकन गर्ने हो भने सानो खालको रहेको सम्बन्धित क्षेत्रले औँल्याएको छ । सन् २०२१ को तथ्यांकअनुसार प्रतिव्यक्ति तरुल खपत ०.०२ केजी मात्र रहेको देखिन्छ । यसको खेती तराई र पहाडी क्षेत्रमा खेती हुन्छ । यसको अनुमानित क्षेत्रफल पाँच हजारदेखि १० हजार हेक्टर रहेको छ । त्यसैगरी उत्पादकत्वलाई हेर्ने हो भने आठदेखि १५ मेट्रिक टन प्रति हेक्टर रहेको अनुमान गरिएको छ । जुन छिमेकी देश भारतको तुलनामा उत्पादकत्व कम नै रहेको छ । यो गाउँ घरमा बसोबास गर्ने साना खालका कृषकहरूको लागि तरुल खेती आयस्रोतको मुख्य आधारको रूपमा रहेको छ । यसमा पनि विशेष गरी महिलाहरूले खेती गर्छन् । जसले गर्दा आर्थिक दृष्टिकोणले हेर्ने हो भने यस व्यवसायले स्थानीय बजारलाई चलायमान बनाएको हुन्छ । यो खेतीलाई बढाइयो भने छिमेकी देश चीन तथा भारतमा पनि निर्यात गर्न सक्ने सम्भावना धेरै रहेको देखिन्छ ।
समग्रमा भन्नुपर्दा घिउ, चाकु र तरुल केवल खानेकुरा मात्र नभएर यिनले नेपाली संस्कृति, कृषि र स्थानीय अर्थतन्त्रलाई जोड्दछन् । फलतः नेपालको कृषि नीति अहिलेपनि मुख्य रूपमा परम्परागत उत्पादनमा आधारित छ । यस्ता किसिमका चाडपर्वजस्ता कदमहरू चाले भने यी वस्तुहरूलाई राष्ट्रिय अर्थतन्त्रमा अझ प्रभावकारी बनाउन सकिन्छ । यी परम्परागत वस्तुहरूलाई मात्र परम्परामा सीमित नराखी, आधुनिक बजार–आधारित रणनीतिमा लैजानुपर्ने आवश्यक छ । यी घिउ, चाकु र तरुलजस्ता परम्परागत उत्पादनले खास गरी ग्रामीण क्षेत्रका महिला र युवा वर्गलाई रोजगारका अवसरहरू प्रदान गर्छन् । मूलतः गाँउमै उत्पादन, प्रसोधन, बजार बिक्री र साना व्यापारका मार्फत विभिन्न स्थानमा बिक्री वितरण भएका छन् । अतः माँघे संक्रान्तिले यिनको माध्यमबाट ग्रामीण–सहरी आर्थिक चलायमानता सिर्जना गर्छ । यदि यी वस्तुहरूलाई व्यावसायिक र निर्यातमुखी बनाइयो भने नेपालको कृषि अर्थतन्त्रमा नयाँ आयाम थपिन सक्छ ।