काठमाडौँ । नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई)का अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु अपरिहार्य रहेको बताएका छन् ।
एनजीसीसीआईको ३०औँ तथा ३१औँ वार्षिक साधारणसभामा उनले नेपाललाई न्यूनतम सात लाख मेट्रिक टन युरिया मल आवश्यक रहे पनि हाल तीन लाख मेट्रिक टन पनि आयात भइरहेको बताए । उनले जर्मनीको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पेस गरेको जानकारी दिए । यसलाई सबै सरोकारवालाले मिलेर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपाली उत्पादनहरूले गुणस्तरका आधारमा विश्वास जित्दै आएको बताए । नेपाल र जर्मनीबीचको दीर्घकालीन व्यवसायिक साझेदारीलाई थप सुदृढ बनाउँदै ‘पिपुल टु पिपुल कनेक्सन’ लाई अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री सिन्हाले स्वदेश तथा युरोपेली मुलुकहरूमा व्यापार, लगानी, आर्थिक सम्बन्ध प्रवद्र्धन, व्यापार मेला आयोजना तथा नेपाली उद्यमीहरूलाई नवीन सोचसहित अन्तर्राष्ट्रिय बजारमा जोड्ने कार्यमा एनजीसीसीआईले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यापारिक सहकार्यलाई अझ विस्तार गर्न आफू उत्साहित रहेको बताए । दुई देशबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई आर्थिक साझेदारीमार्फत थप मजबुत बनाउन सकिने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले स्वतन्त्र, पारदर्शी तथा स्वस्थ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । निजी क्षेत्रको सक्रिय सहभागिता विना दिगो आर्थिक विकास सम्भव नहुने उनले बताए ।
संघको ३०औँ तथा ३१औँ वार्षिक साधारणसभाको अवसरमा काठमाडौँस्थित र्याडिसन होटलमा प्रत्यक्ष कला तथा चित्रकला सत्रहरू आयोजना गरिएको थियो । वरिष्ठ कलाकार किरण मानन्धर तथा अन्य ११ जना कलाकारद्वारा प्रस्तुत कला तथा चित्रकलाले नेपालको कला, संस्कृति र प्रकृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने जनाइएको छ ।