नेपाली कांग्रेस विभाजन भएको छ । केन्द्रीय समितिमा अल्पमतमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरेपछि सभापति शेरबहादुर देउवा पक्षसँग वार्ता नमिलेपछि कांग्रेस विभाजित भएको हो । विशेष महाधिवेशन आयोजक र महाधिवेशनमा नजाने पक्षबीच वार्ता असफल भएपछि दुवै पक्षले एक–अर्कामाथि फुटको कारक भनेर आरोप लगाएका छन् ।जसले आरोप लगाए पनि कांग्रेसको बारेमा निर्वाचन आयोगले अब गर्ने निर्णयको आधारमा एउटा पक्षले आधिकारिकता पाउनेछ । आयोगल केन्द्रीय समिति र संसदीय दल ४० प्रशितत भएमा पार्टी विभाजन गर्न सक्ने जनाएको छ । तर, अहिले संसद् विघटन भएको कारण केन्द्रीय कार्यसमितिको ४० प्रतिशतको संख्यालाई निर्वाचन आयोगले आधार लिनेछ ।
विशेष महाधिवेशन चलिरहेको बेला कांग्रेसलाई फुटबाट जोगाउन देउवा पक्ष र महाधिवेशन आयोजक थापा र शर्मा पक्षबीच वार्ता भएको थियो । वार्तामा थापा÷शर्मा पक्षले नयाँ निर्वाचनबाट नेतृत्व चयन गर्ने बताएपछि देउवा पक्षले उनीहरूलाई निष्काशन गरेको निर्णय गरेको थियो । त्यसपछि महाधिवेशनमा सहभागी थापाले कांग्रेस कसैको प्रालि नभएको भन्दै कारबाही नभएको जिकिर गर्दै आफूहरूले आधिकारिकता पाउने र नयाँ नेतृत्व चयन हुने जिकिर गरेका थिए ।विशेष महाधिवेशन पक्षधरले सोमबार नै काठमाडौंमा विशेष महाधिवेशन जारी रहेको जानकारी दिएको थियो । देउवा पक्षले भने महामन्त्रीद्वय थापा र शर्माको साथै नेता फरमुल्लाह मन्सुरलाई पनि साधारण सदस्यबाट समेत निष्काशन गरेको थियो । महाधिवेशन आयोजनाको माग गर्दै पार्टीमा निवेदन दिएपछि केन्द्रीय कार्यसमितिले महाधिवेशन बोलाउनुपर्नेमा बहुमत नभएपछि महामन्त्रीद्वयले महाधिवेशन बोलाएका थिए ।
कांग्रेसमा विवाद जारी रहँदा पनि समानुपातिकतर्फको उम्मेदवारी दर्ता मात्र होइन गठबन्धनको घोषणा पनि भइसकेको छ । तर, एकाएक पार्टी फुटेपछि कोसँग कसको के सम्झौता हुने अन्योलता बढेको छ ।निर्वाचन आयोगबाट जसले आधिकारिकता पाए पनि आउँदो चुनाव कांग्रेसका लागि सहज हुनेछैन । कांग्रेसको महाधिवेशनको बारेमा केन्द्रीय समितिको निर्णय देउवा पक्षमा भएको कारण महामन्त्रीद्वयले आह्वान गरेको दोस्रो विशेष महाधिवेशन अवैध हुने सम्भावना बढी छ । नेपाली कांग्रेसमा चार हजार सात सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । उनीहरूमध्ये बहुमत आफ्नो पक्षमा रहेको थापा–शर्मा समूहको दाबी छ ।
गगनको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं, पुस ३० । सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागीहरूले गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति घोषणा गरेको छ । निर्वाचन गर्ने भने पनि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।सभापतिमा गगन थापा र उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएको घोषणा गरिएको छ । त्यस्तै महामन्त्रीम प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएको घोषणा गरिएको छ । सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा तामाङ, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेसीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएको घोषणा गरिएको छ ।