काठमाडौं । नागरिक लगानी कोषको सेयरधनीहरूलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा भएको ३१औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । सभाले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसमेत छलफल गरी पारित गरेको छ । सभामा कोषका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्धन गर्दै लैजाने योजना रहेको बताए । आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दै जाने उनको भनाइ छ । कोषले सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधारसम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजाने उनले बताए ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले अबको युग डिजिटल युग भएकाले कोषले पनि सोहीअनुसार कार्य गरिरहेको जानकारी दिए । साथै उनले हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रूपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको बताए । कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत् आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवम् उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए । सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचितसमेत गरेको छ ।