काठमाडौँ । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा उपसभामुख इन्दिरा रानाले माघी पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण गरेको बताएकी छिन् । उनले माघी पर्वको अवसरमा बिहीबार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन्, नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एकापसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्”, उपसभामुख रानाले भनिन ।
नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलनसमेत रहेको छ ।