काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीले १२औँ महाधिवेशनको नयाँ मिति तय गरेको छ । शुक्रबार बसेको कमिटीको सातौँ बैठकले यसअघि फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर नयाँ मिति चयन गरेको हो ।
आगामी मार्च १४ देखि १६, २०२६ सम्म महाधिवेशन गर्ने संघले निर्णय गरेको छ । संघका महासचिव गौरीराज जोशीले बैठकले महाधिवेशनको मिति मात्र नभई सदस्यता नवीकरण, मर्जर र व्यवस्थापनका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिए । महाधिवेशन काठमाडौँस्थित होटल सोल्टीमा आयोजना गर्ने निर्णय भएको छ । यसअघि नै टेन्डर प्रक्रियाबाट छनोट भइसकेको ‘भोग एड एन्ड इभेन्ट म्यानेजमेन्ट’ कम्पनीले नै महाधिवेशनको व्यवस्थापन गर्ने छ । नयाँ मितिका लागि होटल र इभेन्ट कम्पनीसँग सचिवालयमार्फत पुनः सम्झौता प्रक्रिया अघि बढाइने भएको छ । संघले नयाँ सदस्यता लिन चाहने वा छुटेकाहरूका लागि आवेदन दिने म्याद जनवरी २५, २०२६ सम्म विस्तार गरेको छ । समानान्तर रूपमा रहेका एनसीसीहरूले अन्य पोर्टलमार्फत बनाएका सदस्यहरूको विवरण पनि सोही मितिभित्र बुझाइसक्नुपर्ने छ । यसको समन्वय महासचिव बीआर लामा र अध्यक्ष महेश कुमार श्रेष्ठले गर्नेछन् । मे २०२५ को एकता महाधिवेशनका सदस्य र नयाँ प्राप्त विवरणहरूलाई ‘मर्ज’ गरी डकुमेन्ट भेरिफिकेसनपश्चात् जनवरी ३१ भित्र अन्तिम सदस्यता नामावली सार्वजनिक गरिने संघले जनाएको छ ।
बैठकले अझै पनि समानान्तर रूपमा रहेका एनसीसीहरूसँग स्टेरिङ कमिटीले सिधै संवाद गरी एकताको वातावरण बनाउने निर्णय गरेको छ । निर्वाचन प्रक्रियाका कानुनी जटिलता सुल्झाउन दुवै पक्षका कानुनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरिने संघले जनाएको छ ।