काठमाडौं । भदौ २३ र २३ को जेन–जी आन्दोलनपछि पहिलो पटक सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बसेको छ । राष्ट्रिय सभाको १९औँ अधिवेशन आइबारबाट सुरु भएको हो ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा बैठक सुरु भएको हो । भदौ ४ गते बानेश्वरस्थित संसद् भवनमा आगजानी भएपछि राष्ट्रिसभाको बैठक बस्न सकेको थिएन । आन्दोलनपछि बनेको वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको मिति घोषणा हुँदै छ । राष्ट्रियसभाको अधिवेशन पनि अन्त्य गरिएको थियो । हालै सरकारले राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति रामचन्दै पौडेलले बैठक आह्वान गरेका थिए । आइतबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका थिए । उनले बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए भने त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पुर्याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरिएको थियो ।
बैठकले सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । वि.सं. २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उनी वि.सं. २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचत भएका थिए । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ । राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ । त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक दुई वर्षमा सकिन्छ । यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदै छ । राष्ट्रियसभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्ने छ ।