काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूअन्तर्गत बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
ग्लोबल आईएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बागमती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पाँच सय ५८ रक्तदाताहरूले रक्तदान गरेका छन् । साथै, उक्त कार्यक्रमबाट संकलन भएको रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी वितरण हुने छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसप्रकारका विभिन्न सामाजिक कार्यहरू निरन्तररुपमा गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, एक सय ५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ ।