काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सभामा संस्थाको तर्फबाट प्रस्तुत गरिएको आव २०८१/०८२ को १६औँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८१/८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू, बाह्य लेखापरिक्षकको नियुक्ती तथा विशेष प्रस्तावतर्फ वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।
विगत वर्षमा फाइनान्सको वित्तीय विवरण तथा व्यवसायमा उतारचढाब भए पनि गत आर्थिक वर्षको तुलनामा यस चालु आवमा संस्थाको निक्षेपमा एक दशमलव शून्य तीन प्रतिशतले बढेर आठ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने कर्जा आठ दशमलव ७० प्रतिशतले बढेर सात अर्ब नौ करोड रुपैयाँ पुगेको छ । यसैगरी फाइनान्सको नाफामा ६१ प्रतिशतले बढेर छ करोड ८६ लाख रुपैयाँ पुगेको छ । फाइनान्सले कर्जा असुलीको कार्यलाई योजनाबद्ध ढंगले प्रभावकारी बनाउदै लगिसकेको छ । उक्त साधारणसभामा संस्थाका सेयरधनी डा. बालकृष्ण चापागाई र सेयरधनी दिपक आचार्र्यले वार्षिक प्रतिवेदनउपर छलफल गरी साधारण सभा सफलताको कामना गरे । साथै विभिन्न सेयधनीहरूले लिखित सुझाब दिएका थिए ।
सभामा फाइनान्समा १० वर्षभन्दा बढी संचालक भई योगदान पुर्याएका पूर्व संचालक विष्णुमान जोशीलाई सम्मान गरी कदर पत्र प्रदान गरिनुका साथै यस संस्थामा १० वर्षभन्दा बढी सेवा सकेका कर्मचारीहरूलाई सम्मान गरेको थियो । त्यस्तै फाइनान्सको शाखाहरू मध्ये कार्य सम्पादनको आधारमा राम्रो काम गर्ने तीनवटा शाखालाई बेस्ट ब्रान्च अवार्डबाट पुरस्कृत गरेको थियो ।
नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१० मा प्राप्त गरी मिति २०६६/०८/१८ बाट संस्थाको केन्द्रीय कार्यालय कमलादीबाट आफ्नो कारोबार सुरु गर्दै आएको फाइनान्सले न्यूरोड काठमाडौँ, सितापाइला काठमाडाँै, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।
फाइनान्सले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक ब्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ । फाइनान्सले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई एससीटी नेटवर्क, विभिन्न रेमिटेन्स सेवाहरू , सी आस्वा, आईपीएस, कनेक्ट आईपीएस सेवा, एबीबीएस सेवा, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी), एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, क्यूआर टेलरसमेतका सेवा प्रदान गर्दै आएको छ ।