राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी अभियोगमा दायर मुद्दामा अदालतले धरौटी माग गर्ने निर्णय गरेको हो।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग धरौटी माग गर्ने आदेश जारी गरेको हो। सो मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।
लामिछाने सोमबार तारेखका लागि पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतको प्रक्रिया पूरा गरेपछि उनी चितवनमा उम्मेदवारी दर्ता गर्न प्रस्थान गरेका छन्। उक्त मुद्दा सहकारी क्षेत्रको पारदर्शिता र जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय भएकाले यसले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ।