त्यसो त निकुञ्ज पर्यटनको कुरो गर्दाखेरि नेपालमा १३ वटा राष्ट्रिय निकुञ्ज घोषणा भएको छ । त्यसैगरी एक शिकार आरक्षण र केही वन्यजन्तु एवं प्रकृति संरक्षण क्षेत्र पनि घोषित रहेका छन् । नेपालमा रहेका विभिन्न निकुञ्ज क्षेत्र, शिकार आरक्षण क्षेत्र, संरक्षित क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज प्रमुख रहेको छ । किनभने, नेपालमा रहेका १३ वटा निकुञ्ज मध्ये वार्षिक रूपमा निकुञ्ज भ्रमण गर्ने आउने गरेको पर्यटकको संख्या सबैभन्दा धेरै रहने गरेको निकुञ्ज पनि चितवन राष्ट्रिय निकुञ्ज हो । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज पनि चितवन राष्ट्रिय निकुञ्ज हो । स्मरणीय छ, चितवन राष्ट्रिय निकुञ्ज आजभन्दा ५२ वर्षअघि अर्थात् वि.सं. २०३० मा स्थापना गरिएको थियो ।
त्यस्तै गरेर चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटको संख्याको कुरो गर्दाखेरि सन् २०२४ (आर्थिक वर्ष २०८०/०८१) मा तीन लाख छ हजार आठ सय ३७ जना स्वदेशी पर्यटक एवं विदेशी पर्यटक भ्रमण गर्न आएको थिए । त्यस्तै अघिल्लो आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ जना स्वदेशी र विदेशी पर्यटक ‘चितवन राष्ट्रिय निकुञ्ज’ भ्रमण गर्न आएका थिए । तुलना गरेर हेर्दा सन् २०२४/२५ (आर्थिक वर्ष २०८०/०८१) मा अघिल्लो वर्षको तुलनामा सात हजार चार सय २५ जना बढी पर्यटकले ‘चितवन राष्ट्रिय निकुञ्ज’ भ्रमण गरेका थिए । सो तथ्यांकअनुसार सन् २०२४/२५ (आर्थिक वर्ष २०८०/०८१) मा भन्दा अघिल्लो वर्ष बढी स्वदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न गएका थिए । तथ्यांकअनुसार अघिल्लो वर्ष दुई लाख पाँच हजार छ सय पाँच जना स्वदेशी पर्यटकहरू ‘चितवन राष्ट्रिय निकुञ्ज’ भ्रमण गर्न थिए भनेदेखि, सन् २०२४/२५ (आर्थिक वर्ष २०८०/०८१) मा चाहिँ एक लाख ७६ हजार तीन सय १६ जना स्वदेशी पर्यटकहरू मात्रै ‘चितवन राष्ट्रिय निकुञ्ज’को भ्रमण गर्न गएका थिए । त्यस्तै गरेर सार्क सम्बद्ध देशबाट पनि गएको आर्थिक वर्षमा ३६ हजार चार सय ७१ जना पर्यटक ‘चितवन राष्ट्रिय निकुञ्ज’ भ्रमण गर्न गएका थिए भने, तेस्रो मुलुकका ९४ हजार ५० जनाले विदेशी पर्यटक ‘चितवन राष्ट्रिय निकुञ्ज’ भ्रमण गर्न गएको देखिन्छ, तथ्यांक हेर्दा ।
त्यसैगरी नेपाल सरकार मातहत रहेको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वि.सं. २०८२ भदौमा प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स २०२४’ नामक किताबमा जनाइए अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार पाँच सय ४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गर्न आएका थिए । त्यस मध्ये चार लाख ६४ हजार छ सय ५३ जना विदेशी पर्यटकले नेपालमा रहेका विभिन्न निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए भने, सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसरी सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका १० लाख १४ हजार आठ सय ८२ जना विदेशी पर्यटक मध्ये ३ लाख आठ सय ७५ जनाले नेपालको विभिन्न क्षेत्रमा रहेका निकुञ्जमा भ्रमण गरेका थिए । त्यसै गरिकन सन् २०२२ मा छ लाख १४ हजार आठ सय ६९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गर्न आएका थिए । ती छ लाख १४ हजार आठ सय ६९ जना विदेशी पर्यटक मध्ये ७५ हजार छ सय आठ जना विदेशी पर्यटकले नेपालमा रहेको निकुञ्जको भ्रमण गरेका थिए भने, सन् २०२१ मा केवल एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । ती एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटक मध्ये पनि ११ हजार आठ सय ४७ जना विदेशी पर्यटकले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेको तथ्यांक रहेको छ ।
हुन त तथ्य–तथ्यांककै कुरो गर्दाखेरि सन् २०२० मा पनि दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसो हुनुको कारण सो वर्षको अन्त्यतिर उत्तरी छिमेकी देश चीनको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित एक प्रान्त हुपेइको राजधानी सहर वुहानबाट कोरोना महामारी (कोभिड–१९) फैलनु रहेको थियो । नेपालमा पनि कोरोनाले महामारीको रूप लिएको हुनाले ‘लक डाउन’ गरेको थियो, नेपाल सरकारले । त्यसैले विदेशी पर्यटकको नेपाल आगमनमा पनि प्रतिबन्ध लागेको हुनाले सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटक मध्ये कति विदेशी पर्यटक निकुञ्ज भ्रमण गर्न गए ? भनी तथ्यांक राखिएन । जे भए पनि विगत पाँच वर्षे समयावधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई तुलना गरेर हेर्दा निकुञ्ज भ्रमण गर्ने विदेशी पर्यटकको संख्यालाई कम आँक्न मिल्दैन ।
हरेक वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक एवं हरेक वर्ष सबैभन्दा धेरै पर्यटक पुग्ने राष्ट्रिय निकुञ्जका रूपमा ‘चितवन राष्ट्रिय निकुञ्ज’ रहने गरेको छ । हुन पनि आन्तरिक (नेपाली) रूपमा सबैभन्दा धेरै नेपाली पर्यटक पुग्ने राष्ट्रिय निकुञ्जका रूपमा पनि ‘चितवन राष्ट्रिय निकुञ्ज’ रहने गरेको छ । वर्ष २०७९–०८० मा चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका आन्तरिक (नेपाली) पर्यटकको संख्या मात्रै एक लाख ८७ हजार दुई सय १७ रहेको थियो । त्यस्तै गरेर सार्क देशबाट २७ हजार आठ सय ७४ जना पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका थिए । साथै सो वर्षको १० महिनामा चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने तेस्रो मुलुक (नेपाल र सार्कबाहेक) को पर्यटक संख्या ४८ हजार सात सय १५ जना थियो । आजभोलि समयको गति सँगसँगै सेवामुलक क्षेत्रमा विविधिकरणले व्यापक रूप लिएको छ । त्यसैले यस सम्बन्धमा नेपाल मात्रै अछूतो रहने कुरो भएन । विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्नका लागि पनि नेपालले पनि पर्यटन क्षेत्रमा विविधिकरण गर्नेपर्ने वाध्यता आइलाग्दै छ । त्यसै कारण गर्दा नेपालले पनि अनेक खालका नयाँ प्रडक्टहरू उत्पादन गर्ने, त्यस खालका प्रडक्टहरूको मार्केटिङ गर्ने क्रम विश्वव्यापी रूपमा सुरु भएको छ ।
खासमा नेपाल पर्यटनका लागि अनेकौँ संभावना भएका विश्वका केही देश मध्येमा पर्ने गर्छ । चाहे त्यो भगौलिक हिसाबले होस्, चाहे त्यो जातीय विविधताको हिसाबले होस्, चाहे त्यो भाषिक विविधताको हिसाबले नै किन नहोस् । चाहे त्यो साँस्कृतिक विविधिताको हिसाबले नै किन नहोस्, चाहे त्यो जैविक विविधताको हिसाबले नै किन नहोस् । अथवा भगौलिक विविधताकै हिसाबले किन नहोस् । विश्वका एकसे–एक देशसँग दाँज्न सकिने सम्पदा र संभावना नेपालमा छ । अहिले विश्व पर्यटनमा नयाँपनको रस्वादन गर्ने बानी परेका सौखिन पर्यटकले रोजी छानी आफ्नो गन्तव्य फेर्ने गरेका छन् । धेरै देशले त्यस्ता सौखिन पर्यटक तान्नका लागि नयाँ खालका स्किम र अफर ल्याउन थालेका छन् ।
निकुञ्ज पर्यटनले नेपालको ग्रामीण भेगका लागि आर्थिक आधार स्तम्भको रूपमा रहेको देखिन्छ । यसो भन्दाखेरि कसैले नाक खुम्च्याइ रहनु पर्दैन । किनकि अधिकांश निकुञ्ज गाउँघरका आसपासमा छन् । हालसम्म नेपालमा रहेका निकुञ्जहरू १) सगरमाथा राष्ट्रिय निकुञ्ज । २) चितवन राष्ट्रिय निकुञ्ज । ३) शिवपुरी राष्ट्रिय निकुञ्ज । ४) रारा राष्ट्रिय निकुञ्ज । ५) खप्तड राष्ट्रिय निकुञ्ज । ६) शे फोकसुन्डो राष्ट्रिय निकुञ्ज । ७) मकालु वरुण राष्ट्रिय निकुञ्ज । ८) लाङटाङ राष्ट्रिय निकुञ्ज । ९) बर्दिया राष्ट्रिय निकुञ्ज । १०) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज । ११) खप्तड राष्ट्रिय निकुञ्ज । १२) बाँके राष्ट्रिय निकुञ्ज १३) छाँयानाथ राष्ट्रिय निकुञ्ज रहेका छन् । तथ्य–तथ्यांक हेर्दाखेरि राष्ट्रिय निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटक बढेसँगै निकुञ्ज पर्यटन क्षेत्रबाट हुने आमदानीमा समेत बढोत्तरी हुने अपेक्षा गरिएको छ । ninamkirat123@gmail.c0m