बिगत केही समयदेखि लगातार बिगत केही समयदेखि लगातार घट्दै आएको सेयर बजार पछिल्लो समय बढ्न थालेको छ । आगामी फागुन २१ गतेको निर्वाचनको मिति नजिकिँदै गर्दा सेयर बजारले भने नयाँ उचाइ लिन थालेको छ । यसले गर्दा पनि मुलुकको सेयर बजारमा राजनीतिक घटना क्रमको गहिरो प्रभाव देख्न सकिन्छ । नेपालको सेयर बजार केवल आर्थिक सूचकहरूबाट मात्र निर्देशित छैन, यो राजनीतिक शक्ति सन्तुलनको संवेदनशील प्रतिबिम्ब पनि हो । चुनाव नजिकिँदा सत्ता परिवर्तनको सम्भावना बलियो हुन्छ र सत्ता परिवर्तनसँगै नीति, प्राथमिकता र पहुँच परिवर्तन हुने अपेक्षा गरिन्छ । यही अपेक्षाले बजारमा नयाँ चलखेल सुरु हुन्छ । विशेष गरी ठूला परियोजनामा संलग्न कम्पनी, बैंक तथा बीमा कम्पनीहरू नयाँ सरकारसँग नजिक हुने वा फाइदा लिने अनुमानका आधारमा लगानीकर्ताको रोजाइमा पर्छन् । यसले गर्दा केही निश्चित समूहका सेयरहरू चुनावी अवधिमा अस्वाभाविक रूपमा बढ्ने गरेको पनि देखिन्छ ।
चुनाव खर्चिलो प्रक्रिया हो । नेपालमा चुनावी खर्चको ठूलो हिस्सा औपचारिक प्रणालीबाहिरबाट हुने चर्चा समय–समयमा उठ्दै आएको छ । यस्तो अवस्थामा अवैध वा अघोषित पुँजी छोटो अवधिमा घुमाउन सजिलो माध्यमका रूपमा सेयर बजार प्रयोग हुने सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन । सेयर बजारमा छिटो प्रवेश र निकास सम्भव हुन्छ, जसले चुनावी खर्च व्यवस्थापनका लागि केही समूहलाई आकर्षित गर्छ । यद्यपि यो आरोप पुष्टि गर्ने ठोस तथ्य सधैँ नहुन सक्छ, तर बजारको व्यवहारले यस्तो शंका बलियो बनाउने अवस्था पटक–पटक देखिन्छ । विशेषतः आम निर्वाचन नजिकिँदै जाँदा सेयर बजारमा देखिने उछाललाई केवल संयोगका रूपमा लिन मिल्दैन । पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा पनि चुनावको संघारमा बजारमा लगानीकर्ताको आकर्षण बढ्ने, सूचकांक उकासिने र कारोबार रकम विस्तार हुने प्रवृत्ति देखिन्छ । यसले एउटा गम्भीर प्रश्न उठाउँछ— चुनाव नजिकिँदै गर्दा किन नेपालको सेयर बजार बढ्दै जान्छ ?
यसको प्रमुख कारण हो, राजनीतिक स्थिरताको अपेक्षा । चुनाव लोकतान्त्रिक प्रणालीको आधार हो । निर्वाचन नजिकिँदै गर्दा लगानीकर्तामा एउटा साझा मनोविज्ञान विकास हुन्छ— चुनावपछि स्थिर सरकार बन्नेछ । दीर्घकालीन राजनीतिक अस्थिरताबाट थाकेका लगानीकर्ता नयाँ जनादेशले बलियो सरकार दिन सक्छ भन्ने अपेक्षा गर्छन् । राजनीतिक स्थिरता भनेको नीतिगत निरन्तरता, विकास बजेटको कार्यान्वयन र निजी क्षेत्रमैत्री वातावरण हो, जसले सेयर बजारमा सकारात्मक संकेत दिन्छ । नेपालमा विगतमा चुनावपछिका केही अवधिमा सरकार अपेक्षाकृत स्थिर देखिएको उदाहरणहरू छन् । यही ऐतिहासिक स्मृतिले गर्दा चुनाव नजिकिँदा लगानीकर्ताको आत्मविश्वास बढ्ने गर्दछ ।
सरकारको लोकप्रिय कार्यक्रम र खर्च बढ्ने संकेतले पनि चुनाव नजिकिँदै गर्दा सेयर बजार बढ्न सक्छ । चुनाव आउँदै गर्दा सत्तारूढ दल वा गठबन्धनले लोकप्रिय कार्यक्रमहरू घोषणा गर्ने प्रवृत्ति देखिन्छ । सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब वृद्धि, अनुदान, सहुलियत ऋण, ठूला पूर्वाधार योजनाको घोषणा जस्ता निर्णयहरू चुनावी रणनीतिको हिस्सा बन्छन् । यस्ता कार्यक्रमले अर्थतन्त्रमा तरलता बढाउँछ । बैंकिङ प्रणालीमा पैसा बढी घुम्न थाल्छ, कर्जा प्रवाह बढ्छ र त्यसको प्रभाव अन्ततः सेयर बजारमा देखिन्छ । बैंक, बीमा, हाइड्रोपावर र विकास बैंक जस्ता क्षेत्रका कम्पनीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षाले तिनका सेयर मूल्य बढ्न थाल्छन् ।
चुनाव नजिकिँदै गर्दा सेयर बजार बढ्नुको अर्को कारण हुन सक्छ, मौद्रिक र वित्तीय नीतिमा लचकता । चुनाव नजिकिँदा राष्ट्र बैंक तथा सरकार दुवै पक्षबाट कठोर नीतिमा केही लचकता देखिन सक्छ । ब्याजदर नियन्त्रण, कर्जा विस्तार, पुनर्कर्जा सुविधा, पुँजी बजारमैत्री व्यवस्था जस्ता निर्णयहरू चुनावी वातावरणमा सहजै आउन सक्छन् । नेपालमा ब्याजदर घट्दा वा घट्ने संकेत देखिँदा सेयर बजार तुरुन्तै प्रतिक्रिया जनाउने गर्छ । लगानीकर्ताले बैंकमा पैसा राख्नुभन्दा सेयरमा लगानी गर्न उपयुक्त ठान्छन्, जसले माग बढाउँछ र बजार उकालो लाग्छ । चुनाव नजिकिँदा संस्थागत तथा ठूला लगानीकर्ता सक्रिय हुने गर्छन् । । उनीहरू चुनावपछिको सम्भावित नीतिगत सुधार, परियोजना स्वीकृति र आर्थिक विस्तारलाई लक्षित गरेर अग्रीम रूपमा सेयर संकलन गर्न थाल्छन् । ठूला लगानीकर्ताको प्रवेशले बजारमा मनोवैज्ञानिक प्रभाव पार्छ । साना लगानीकर्ताले पनि ‘भित्रै केही सकारात्मक सूचना छ’ भन्ने अनुमान गर्दै बजारमा प्रवेश गर्छन् । यसले बजारमा कृत्रिम तर प्रभावशाली उछाल सिर्जना गर्छ ।
नेपालमा लगानीका विकल्प सीमित छन् । रियल स्टेटमा कडाइ, सुनचाँदीमा अस्थिरता, व्यवसायमा जोखिम र बैंक ब्याजमा क्रमशः घट्दो प्रतिफलका कारण सेयर बजार तुलनात्मक रूपमा आकर्षक बन्दै जान्छ । चुनावी समयमा अर्थतन्त्र चलायमान हुने अपेक्षासँगै लगानीकर्ताले सेयर बजारलाई छोटो अवधिको राम्रो अवसरका रूपमा लिन्छन् । यही कारणले बजारमा नयाँ लगानीकर्ता थपिने क्रम तीव्र हुन्छ । सेयर बजार तथ्यभन्दा बढी मनोविज्ञानले चल्ने क्षेत्र हो । चुनाव नजिकिँदा ‘नयाँ सरकार आएपछि बजार बढ्छ’, ‘फलानो पार्टी आएपछि विकास हुन्छ’, ‘हाइड्रो, बैंकिङ सेक्टर चम्किन्छ’ जस्ता अफवाह र विश्लेषणहरू सामाजिक सञ्जाल र चिया पसलदेखि सेयर फोरमसम्म फैलिन्छन् । यी आशा र अफवाहले लगानीकर्ताको निर्णयलाई प्रभावित पार्छन् । धेरैजसो अवस्थामा बजार वास्तविक आर्थिक सूचकभन्दा पनि अपेक्षाले चलेको देखिन्छ ।
सेयर बजारको इतिहास हेर्दा केही चुनावी अवधिमा बजारले राम्रो प्रदर्शन गरेको देखिन्छ । यद्यपि सधैँ त्यस्तै नहुन सक्छ, तर विगतको सकारात्मक अनुभवले भविष्यमा पनि त्यस्तै हुनेछ भन्ने सोच बलियो बनाउँछ । लगानीकर्ताले बजार बढ्छ भन्ने विश्वास गरेकै कारण बजार बढ्छ । चुनाव नजिकिँदा बजार बढ्नुको अर्थ सधैँ सुरक्षित लगानी भन्ने हुँदैन । चुनावपछि सरकार गठनमा ढिलाइ, गठबन्धन टुटफुट, नीतिगत अन्योल वा अपेक्षित सुधार नआएमा बजार तीव्र रूपमा घट्न सक्छ । त्यसैले चुनावी उछाल प्रायः छोटो अवधिको हुन सक्छ ।
चुनाव नजिकिँदै गर्दा नेपालको सेयर बजार बढ्नुका पछाडि राजनीतिक स्थिरताको अपेक्षा, सरकारी खर्च वृद्धि, मौद्रिक लचकता, ठूला लगानीकर्ताको रणनीति, सीमित वैकल्पिक लगानी, तथा लगानीकर्ताको मनोविज्ञानजस्ता बहुआयामिक कारणहरू रहेका छन् । यो उछाल अवसरसँगै जोखिम पनि बोकेको हुन्छ । अतः चुनावी समयमा सेयर बजारलाई केवल उत्साहको भरमा होइन, तथ्य, कम्पनीको आधारभूत अवस्था र दीर्घकालीन रणनीतिका आधारमा हेर्नु बुद्धिमानी हुन्छ । किनकि राजनीति परिवर्तनशील हुन्छ, तर सचेत लगानी मात्र दीर्घकालीन समृद्धिको आधार बन्न सक्छ । चुनाव नजिकिँदै गर्दा नेपालको सेयर बजार बढ्नु स्वाभाविक आर्थिक प्रक्रिया मात्र होइन, राजनीतिक अपेक्षा, मनोवैज्ञानिक प्रभाव र संरचनागत कमजोरीको मिश्रित परिणाम हो । यो अवसरको समय पनि हो, तर जोखिमको समय अझ बढी हो । सचेत लगानीकर्ता त्यो हो, जो चुनावी उत्साहभन्दा माथि उठेर बजारलाई तर्क, तथ्य र धैर्यका साथ हेर्छ । किनकि चुनाव आउँछन् र जान्छन्, तर विवेकपूर्ण लगानीको मूल्य सधैँ रहिरहन्छ । त्यसकारण अहिले लगानीकर्ताहरू पुँजी बजारमा लगानी गर्नको लागि सचेत हुनुपर्छ । निकै सुझबुझका साथ सेयर बजारमा लगानी गर्नुपर्छ ।