नेपाल सानो देश भए पनि भौगोलिक, सांस्कृतिक, जातीय र सामाजिक विविधताले भरिपूर्ण राष्ट्र हो । हिमाल, पहाड र तराईले बनेको यो देश सात प्रदेशमा विभाजित छ, जहाँ हरेक प्रदेशको आफ्नै पहिचान, आवश्यकता र चुनौती छन् । आजको दिनमा देशमा राजनीतिक चुनौती यति विविधतायुक्त देशमा राजनीतिक स्थिरता, सुशासन र सामाजिक सद्भाव कायम गर्नु सहज कार्य होइन । प्रजातन्त्र स्थापनापछि नेपालले धेरै राजनीतिक परिवर्तनहरू भोगिसकेको छ, तर ती परिवर्तनहरूले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउँन नसकेको यथार्थ आजको समाजमा स्पष्ट देखिन्छ ।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि जनतामा ठूलो आशा र भरोसा जागेको थियो । जनताले सोचेका थिए—अब शासन जनताकै हातमा जानेछ, देशमा समानता, न्याय, विकास र अवसरको ढोका खुल्नेछ । तर समय बित्दै जाँदा ती आशा धेरै हदसम्म पूरा हुन सकेनन् । त्यसपछिका हरेक चुनाव जनताको लागि आशाको किरण बनेर आए पनि परिणामपछि फेरि निराशा दोहोरिँदै आएको छ । चुनावी समयमा नेताहरूका ठूला–ठूला नारा, आकर्षक भाषण र मीठा आश्वासनले जनता क्षणिक रूपमा उत्साहित हुन्छन्, तर व्यवहारमा ती वाचा कार्यान्वयन नहुँदा जनताको विश्वास क्रमशः कमजोर हुँदै गएको छ । गरिब जहिल्यै गरिब हुने र समाजमा भ्रष्टाचार मौलाउँदै जाँदा त झन् जनतामा निराश एकदमै छाएको छ ।
जेन जेड आन्दोलनपश्चात् नेपालमा ठूलो उथलपुथल भयो, २०८४ को चुनाव २०८२मै हुने भएको छ त्यसैले आज नेपालमा चुनावी माहोल छ । गाउँ–गाउँ, टोल–टोल, सडक–सडकमा राजनीतिक चहलपहल बढेको छ । हरेक ठाउँमा नेतादेखि जनता जागेका छन् । एकातिर पुराना राजनीतिक दलहरू आफ्नो पुरानै आधारमा जनताको मत सुरक्षित गर्न प्रयासरत छन् भने अर्कोतिर नयाँ दल र युवाहरू पनि वैकल्पिक शक्तिका रूपमा उदाउँदै छन् । सबैलाई आशा छ आफ्नै पोल्टोमा मत ल्याउने र सरकार बनाउने, यो सकारात्मक संकेत भए पनि चुनौतीपूर्ण अवस्था पनि हो, किनकि राजनीतिक प्रतिस्पर्धा कहिलेकाहीँ स्वस्थ बहसको सट्टा कटुता र विभाजनतर्फ उन्मुख हुँदै गएको देखिन्छ । तर जे जस्तो जसको परिणाम आयो पनि स्वीकार्नै पर्छ । यो लोकतान्त्रिक अभ्यास हो । तर राजनीतिक अस्थिरताको प्रत्यक्ष प्रभाव समाजमा परेको छ । नेपाली समाज परम्परागत रूपमा जात, धर्म, भाषा र संस्कृतिको विविधताबीच पनि सहअस्तित्व र मेलमिलापमा आधारित समाज हो । एकले अर्कालाई सहयोग गर्ने, सबैको आस्था र विश्वासलाई सम्मान गर्ने नेपालीको बानी नै छ तर पछिल्ला वर्षहरूमा राजनीतिक विचारधाराका आधारमा समाज विभाजित हुँदै गएको पनि अनुभूति हुन्छ । विचारले समाज घर अनि टोललाई असर परेको छ । एउटै परिवार, एउटै समुदाय र एउटै टोलमा बस्ने मानिसहरू पार्टीगत सोचका कारण एक–अर्कासँग टाढिँदै गएका छन् । विचार फरक हुनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर विचारकै नाममा समाजमा बैमनस्यता फैलिनु चिन्ताजनक विषय हो । कसैको विचारलाई अपमान गर्नु र जबर्जस्ती गर्नु कानुनको उल्लङ्घन गर्नु हो यो स्वीकार्य हुनु हुँदैन ।
राजनीतिमा गलत प्रचार, अफवाह र झुटा आश्वासन दिने प्रवृत्ति बढ्दो छ । जसरी पनि चुनाव जित्छु भन्ने तरिकाले लाग्ने, चुनाव जित्नका लागि असम्भव वाचा गर्ने, आफ्नो सबै राम्रो र अरूको सबै खतम भन्ने सोच कदापि हुनुहुँदैन । जे गर्न सकिन्छ त्यो मात्र वाचा गर्ने तर अर्को पक्षलाई बदनाम गर्ने र जनतालाई भ्रममा पार्ने कामसमेत आजसम्म पनि खुलेआम भइरहेका छन् । पहिला वाचा गर्ने र चुनाव सकिएपछि ती वाचा गर्ने नेताहरू जनताका दुःख–सुखमा नदेखिनु, समस्या पर्दा टाढा रहनु र जहिल्यै पनि पदलुप्त भई सत्ता तथा पहुँचमै केन्द्रित हुनु जस्ता कुरा जनताले पटक–पटक भोग्दै आएका यथार्थ हुन् । यसले राजनीति प्रतिको विश्वास कमजोर बनाएको छ र कतिपय अवस्था मा राजनीतिप्रति नै घृणा मौलाएको छ ।
हाम्रो देशको वास्तविक समस्या भनेकै गरिबी, बेरोजगारी, अशिक्षा र कमजोर स्वास्थ्य सेवा हो । तर यी मूल समस्याको समाधानतर्फ गम्भीर प्रयास हुन आजको दिनसम्म पनि सकेको छैन । शिक्षामा गुणस्तरीय सुधारको अभाव छ, टेक्नोलोजिकल शिक्षा र जनतालाई चाहिने शिक्षाको विकास हुन सकेको छैन, शिक्षित व्यक्तिलाई देशमा अवसर छैन, निश्चित मानिसहरूलाई मात्र छ । युवालाई व्यवसाय गर्न प्रेरित गरिँदैन । स्वास्थ्य सेवा अझै पनि सबै नागरिकको पहुँचमा छैन, हुने खाने र नेता विदेशमा स्वास्थ्य सेवा लिन जान्छन् तर यही देशमा सेटामोल नपाई वा सुत्केरी हुन नसकी ज्यान गुमाउनु पर्ने अवस्था आजको दिनसम्म पनि छ र रोजगारीको चरम अभावले गर्दा लाखौँ युवाहरू विदेश पलायन हुन बाध्य छन् । नेपाल कृषिप्रधान देश हो भनिए पनि कृषिमा उल्लेख्य सुधार हुन सकेको छैन । रासायनिक मल पनि आजको दिनसम्म भारत वा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यताले देशमा के को विकास भयो त भन्ने प्रश्नचिह्न छ । देशभित्र उद्योग–धन्दा र कलकारखाना बन्द हुँदै जानु, नयाँ लगानीको वातावरण नबन्नु र उत्पादनशील अर्थतन्त्र कमजोर हुनु राज्य असफलताको संकेत हो । तर अब बन्ने सरकार ले यसको समाधान गर्छ कि गर्दैन भन्नुभन्दा पनि जनता ले त्यो सबै समस्याको समाधान गर्नेलाई सदनमा पु¥याउनु आवश्यक छ । साथै नेपालमा सरकारी निकायहरू प्रभावकारी र पारदर्शी नहुनु अर्को विकराल समस्या हो, कर्मचारीतन्त्रमा ढिलासुस्ती र भ्रष्टाचार हुनु तथा न्यायालयमा समेत बेथिति देखिनु राज्य कमजोर हुँदै गएको प्रमाण हो । यस्तो अवस्थामा जस्तोसुकै सरकार बने पनि जनता पीडित भइरहनुपर्ने बाध्यता अब अन्त्य हुनुपर्छ । जनताको सरकार वास्तवमै जनताकै लागि हो भन्ने अनुभूति दिलाउन सक्ने नेतृत्व आजको आवश्यकता हो ।
नेपालमा राजनीतिक स्वार्थका कारण कहिलेकाहीँ समाजलाई नै विखण्डन गराई सामाजिक तनाव, झडप र भाँडभैलो पनि गराएको देखिने गरेको छ । पार्टीगत र दलीय स्वार्थलाई राष्ट्रहितभन्दा माथि राख्दा समाजमा नकारात्मक असर परेको देखिन्छ । मिलेर बसेको समाजमा विचार फरक हुँदा पनि सहिष्णु हुनुपर्नेमा राजनीतिक उक्साहटले र नचाहिने अभिव्यक्तिले समाजमा द्वेष र रिसिबी बढाएको छ । जितेपछि पनि विपक्षीलाई स्वीकार नगर्ने, बदला लिने र विकासका काममा अवरोध सिर्जना गर्ने प्रवृत्ति अझै कायम छ । देशलाई केही ‘गर्छु’ भन्नेले हार्ने र ‘पहुँच हुने’ले जित्ने संस्कृतिले योग्य र इमानदार व्यक्तिहरू राजनीतिबाटै पाखा लागेको वा बाहिरिन बाध्य भएका छन् । यसले समाजमा निराशा र आक्रोशसमेत बढाएको छ । मूलधारको राजनीतिमा नै मूल्य, नैतिकता र जवाफदेहिता कमजोरहुँदा यसको असर प्रत्यक्ष रूपमा समाज र राष्ट्रको भविष्यमा पर्छ ।
अब हामी सबै मिलेर अगाडि बढ्ने समय आएको छ । आऊँ हामी सबै मिली आत्मसमीक्षा गरौँ । सबैको मतको सम्मान गरौँ, कतै जाल झेल नगरौँ र सबैका विचारको कदर गरौँ । लोकतन्त्रको मूल आत्मा भनेकै सबैको मतको सम्मान र सबै व्यक्तिको विचारको स्वतन्त्रता दिनु हो । देशको कानुनभन्दा माथि कोही छैन भन्ने भावना नेतादेखि सर्वसाधारणसम्म सबैले आत्मसात् गर्नुपर्छ । चुनावी वाचाहरू अक्षरशः पालना गर्नु नेताको नैतिक र राजनीतिक दायित्व हो र जनताले नेतालाई आफ्नो पीर मर्का पोख्न पाउनु र राज्यको सुख सुविधा पाउनु जनताको अधिकार हो । लोकतान्त्रिक व्यवस्था मा नागरिकको अधिकार भनेको आफ्नो विचार प्रष्ट रूपमा राख्न पाउनु, आफूले चाहेको उम्मेदवारलाई मत दिन पाउनु र स्वयं चुनाव लड्न पाउनु पनि हो । चुनाव जित्ने व्यक्ति केवल आफ्नो पार्टीको मात्र प्रतिनिधि होइन, ऊ सम्पूर्ण जनताको हो मेरो तेरो भन्ने छैन, उसले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्नुपर्छ । जित्नेको जनता सबै हुन्छन्—चाहे मत दिने होस् वा नदिने, एउटै पार्टीको होस् वा फरक धारको र हार्नेले जित्नेलाई शुभकामना दिनुपर्छ, बैमनस्यता हटाउनुपर्छ जरैदेखि र देशको मुख्य लक्ष्य भनेकै समग्र विकास र समृद्धि हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक सद्भावविना विकास सम्भव छैन । त्यसका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम जनता मिलेर हातेमालो गर्नुपर्छ । झगडा, द्वेष र विभाजनले देशलाई कमजोर बनाउँछ, जबकि सहकार्य र समझदारीले राष्ट्रलाई बलियो बनाउँछ र अन्तर्राष्ट्रिय स्तरमै नेपालको पहिचान बनाउन सकिन्छ । देश बिग्रिँदा हामी सबै यही देशका नागरिक बिग्रिन्छौँ । देश समृद्ध हुँदा नेपाल आमाको शिर ठाडो हुन्छ र हामी सबै गर्व गर्न सक्छौँ । अब पनि झगडाको राजनीति होइन, विकासको राजनीति आवश्यक छ । देशको मुहार फेर्ने सोच, क्षमता र इमानदारी भएका व्यक्तिहरूलाई अवसर दिनु आजको आवश्यकता हो ।
अन्त्यमा, हामी सबैले विचार गर्नुपर्ने कुरा यही हो कि नेपालले उचित राजनीतिक निकास पाओस् । देशमा सच्चा देशप्रेमी हरूले जितून् । समाज विखण्डन नहोस् र यो निकास कुनै एक नेता वा दलले मात्र होइन, हामी सबै नागरिकले मिलेर दिन सकौँ । राजनीतिले समाजलाई सामाजिक भावनामा नै बग्न दिओस् र कसैलाई विचलित नबनाओस्, कोही कसैसँग पनि बैमनस्यता नबढाओस् । लोकतान्त्रिक व्यवस्थामा जनताभन्दा माथि कोही हुँदैन । हाम्रो देश राम्रो देश बनोस्, समावेशी भइरहोस्, शान्त र सुन्दर भइरहोस् र समृद्ध बनोस्, हामी सबै नेपालीको साझा कामना नै यही हो । त्यसको साथै राजनीति कमाइ खाने भाँडो नबनोस् । यो जनतालाई सेवा गर्ने मैदान बनोस् । राजनीतिले नेतालाई पोस्ने र राज्य चलाउने साँचो आफैँ बोक्ने बन्ने अधिकार दिने नबनोस्, यसले जनतालाई माथि उठाउने देशलाई बनाउने शक्ति को रूपमा विकास होस् ।