काठमाडौैं । प्रिमियर डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागी निष्कासन गर्न लागेको हो ।
सेयर निष्कासनको लागि थापाथलीस्थित प्रिमियर डिस्टिलरी लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिस्टिलरी लिमिटेडका तर्फबाट संचालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
वि.सं. २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो, जसले भोड्का, ह्विस्की, रम र जिनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दछ । नेपालको सबैभन्दा आधुनिक स्वचालित बोटलिङ लाइन र उच्च गुणस्तरीय नियन्त्रण प्रणालीमार्फत सञ्चालन भइरहेको यस उद्योगले आफ्नै प्रयोगका साथै देशभरका अन्य बोटलिङ उद्योगहरूलाई पनि स्पिरिट आपूर्ति गर्दै आयातमा निर्भरता घटाइ घरेलु आत्मनिर्भरतालाई सुदृढ बनाएको छ । यस डिस्टिलरीमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौताअन्तर्गत उत्पादन गरिने ‘ओल्ड मङ्क रम’सहित अन्य विभिन्न ब्रान्डहरू उत्पादन हुँदै आएका छन् । अत्याधुनिक प्रविधि, दिगो सञ्चालन पद्धति तथा ठूलो लगानीमार्फत प्रिमियर डिस्टिलरी लिमिटेडले नेपालका स्पिरिट्स उत्पादन क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्दै आएको छ ।