मैले गत आइतबारको यसै स्तम्भमा हालको नेपालको बौद्धिक चिन्तन, मनन, विमर्श, राजनीतिक, आर्थिक विश्लेषणमा कहलिएका पाँच नाम भरत दाहाल, दिनेश सत्याल (सौरभ), वरिष्ठ वकिल डा. ध्रुवलाल श्रेष्ठ, डा. भाइराजा पाण्डे (मानवअधिकार विज्ञ) र डा. महेन्द्रजंग शाहलाई एउटा सल्लाह दिने हिमाकत (आँट) गरेको थिएँ । ‘पृथ्वीपथ’का एक खम्बातुल्य डा. अक्षय अधिकारी (एकान्त शर्मा) फुत्त उदाउनुभएको उहाँ जस्ता अरु चार खोजेर अर्को ‘पाँच पाण्डव’ टीमलाई पाठ्यक्रममा ल्याउने कोशिस गर्दै रहने नै छु । यहाँचाहि एक साधनातुल्य अध्ययन पद्धतिबाट खुलासा हुन आइपुगेको ‘नेपाली बौद्धिकताको वर्तमान हालत’ साक्षात्कार भएको अनुभवजन्य तथ्य पाठ्यक्रममा अभिलेख गर्न अग्रसर भएको छु । आँट नगर्दा कर्तव्यच्यूत भइँने डरले । कुनै काम हुनुभन्दा पहिलेको आवश्यकता भनेको आँट नै हो ।
मेरो अध्ययन पद्धति भनेको वि.सं. २०२९ साल वनारस सिटीहलको एउटा कुनामा एउटा लगभग सय जनाको जमघटमाँझ जननायक बीपी कोइरालाले कमरेड पुष्पलाल श्रेष्ठसमक्ष ‘म तपाईको आर्थिक कार्यक्रममा आँखा चिम्लेर हस्ताक्षर गर्छु, तपाई मेरो राजनीतिक कार्यक्रममा आँखा चिम्लेर हस्ताक्षर गर्नुहोस्’ प्रस्ताव राख्नु हुँदा म त्यसबखत ‘अखिल भारत नेपाल विद्यार्थी संघ (अभानेविसंघ)’ वनारस शाखाको निर्वाचनमा ‘समाज सेवा सचिव’मा विजयी विद्यार्थी नेताको प्रतिनिधीको रूपमा साक्षी थिएँ । त्यस कालखण्डमा नियमित एकवर्ष नेपाली जनआन्दोलन विषयक कमरेड पुष्पलालसँग हप्ताको चारक्लास लिने सौभाग्य जुरेको थियो । अहिले हिसाब गर्दा त्यो ‘अध्ययन पद्धति’ यात्रा प्रारम्भ भएको ५३ वर्ष पार गरेर यात्रा जारी छ । तात्पर्य मैले विगत ५३ वर्षको कालखण्डलाई, त्यस कालखण्डको बौद्धिकता दूरदर्शिताको चिनापर्ची न्वारानदेखिको हेर्ने थाहा पाउने परिबन्द मिल्यो ।
अध्ययन पद्धतिको सन्दर्भ जब भारतीय सैनिक गुप्तचर संस्था ‘रअ’ प्रायोजित माओवादी हिंसात्मक रगतपच्छे दुर्भाग्य आफ्नो उन्मादमा थियो, त्यसबखत ‘माओवादी बुद्धिजीबी’ भनेर यत्रो ठूलो प्राडाहरूको जमात भिडियामा छ्यापछ्याप्ती भेटिएको त्यसपछि त ‘राजाबादी बुद्धिजीबी’ काँग्रेसवादी, एमालेवादी, मधेशवादी हुँदाहुँदा शेरबहादुर देउवा र कमल थापावादीसम्म पनि प्राडा बुद्धिजीवी हरूको बाढी आएको भेटिदा यो कस्तो बौद्धिकता चेतना जागरण हो ? घोत्लीनु बाध्यता नै भयो । घोत्लिदा र अध्ययन पद्धतिमा प्रवेश गर्दा दुईवटा तथ्य छर्लङ्ग भयो । (१) एउटा खोटो नियत (२) दोश्रो दूरदर्शितामा वालक ।
यसमा एउटा कुरा भनिहालौँ । यहाँ म देखिएका बौद्धिकताको मापन गरिरहेको छु, लुकेका बौद्धिकताको होइन । लुकेको बौद्धिकता भनेको कस्तो हुन्छ भने महाभारतको त्यत्रो घमासान युद्ध मच्चिरहेको थियो । भाइले दाइलाई, बाबुले छोरालाई, छोराले बाउलाई काटिरहे चारैतिर मारकाट र हत्याको रगतको खोलो बगिरहेको थियो । त्यस्तो रगतपच्छे दुर्भाग्यमा पनि कतै एउटा कुनामा ‘युधिष्ठिरले झुठो बोल्दैनन् है’ भन्ने एउटा सत्यको, न्यायको, आस्थाको दियो बलिरहेको थियो । तथ्यमा प्रकट भएका देखिएका ठूला–ठूला बौद्धिकताले भन्दा यस्तै लुकेको बौद्धिकताले साँचोअर्थमा कुनैपनि देश र समाजलाई जोगाइरहेको हुन्छ ।
जस्तो मैले माथि नै भनिसकेँ कि विगत ५३ वर्ष कालखण्डको बौद्धिकता चारसय हजार कति छन् भिसीका दावेदार प्राडाहरू तिनका सबै चिनापत्री जन्मकुण्डली नचाहँदा र नखोज्दा पनि अध्ययन पद्धतिमा आइहाल्दा रहेछन् । प्रतिक उदाहरणमा दुईवटा नामबाट यस कालखण्डको एक स्तरको बौद्धिक हालत मापन हुन सक्ने देखेर यहाँ पाठ्यक्रममा ल्याएको हुँ । (१) पूर्व सभामुख दमननाथ ढुंगाना (खोटो नियत) र (२) राष्ट्रिय गौरव कमाइसकेका अन्तरराष्ट्रिय ख्यातिप्राप्त मेडिकल डाक्टर सुन्दरमणि दिक्षित (दूरदर्शितामा वालक) । साक्षात्कार अनुभवजन्य तथ्य प्रकाशका दृष्टिले मात्र यी दुई नाम उदाहरण लिएको हुँ ।
स्व.पूर्व सभामुख दमननाथ ढुंगाना : व्यक्तिगत हिसाबले वरिष्ठ वकिल दमननाथ ढुंगानासँग मेरो वि.सं. २०३७ साल आम माफीमा परेर जेल रिहाइपछि हो । ढुंगाना काँग्रेस नेता सूर्यप्रसाद उपाध्याय, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका भित्रिया कानुनी सल्लाहकार । त्यतिखेरका नाम कमाएका विद्वानहरू ऋषिकेश शाह, गोविन्द प्रसाद लोहनी, देवेन्द्रराज पाण्डे, मदनमणि दिक्षित, प्रदीप गिरि, यदुनाथ खनाल आदि इत्यादि सबैले विद्वान् वकिल मानेका पाइन्थ्यो । मेरो पनि काँग्रेसमा बीपीले मञ्चमा आफैँसँग बसाएर भाषण गर्न लगाउने, गणेशमानजी, किशुनजीको निजी सहयोगीको जस्तो भूमिका देखिँदा पृष्ठभूमिले निकट सम्बन्ध विकसित भएको थियो । उनकी धर्मपत्नी भुवन ढुंगाना चर्चित महिला साहित्यकारले पकाएको चिया पटक पटक खाने घर आवत जावतकै सम्बन्ध विकसित थियो । मेरो यस लेखाइ साक्षात्कार अध्ययन ठहरमा आग्रह पूर्वाग्रह हुनु पर्ने कुनै कारण छैन ।
यो वि.सं. २०५७ सालतिरको कुरो हो । ‘महाकालीसन्धी’ राष्ट्रघातमा भागवण्डा नपाएर गृहमन्त्री भएर एउटा धम्की जमाएका वामदेव गौतमले एमाले फुटाइदिँदा कृष्णप्रसाद भट्टराईको नाममा ०५६ को निर्वाचनमा काँग्रेसले बहुमतको सरकार बनायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो । त्यसबखत माओवादी हिंसा ठूलो समस्या भइरहेको थियो– ‘म संविधानसभामा जानपरे पनि राजालाई सम्झाउँछु । माओवादीसँग निर्णायक वार्ता गनुपर्यो’ भन्दै भट्टराईले सरकार तर्फका वार्ताकार पूर्वसभामुख प्रजातान्त्रिक खेमाका सर्वस्वीकृत बौद्धिक व्यक्तित्व दमननाथ ढुंगाना र एमालेबाट सिफारिस वाम बुद्धिजीबी पद्मरत्न तुलाधर दुई सदस्यीय वार्ताटोली तोक्नुभयो । माओवादीका तर्फबाट डा.बाबुराम भट्टराई र कृष्ण बहादुर महरा (कालक्रममा सुन तस्कर अदालतबाट प्रमाणित) वार्ताकार खटिएका थिए । वाम बुद्धिजीवी पद्मरत्न तुलाधरका विषयमा त ‘गाई काटेर खान पाउनुपर्छ’ भनेर क्रिश्चियन धर्म प्रचार लगानीकर्ता अमेरिकी डिपस्टेट जर्जसोराज फन्डिङ नागरिक समाज र मिडिया जगतका बौद्धिक नायक भएका मैले चासो राखिन । दमन ढुंगाना प्रति भने गम्भीर चासो र सरोकार राखेर हेरेँ र जो देखेँ एकपटक त छाँगाबाट खसेको जस्तो मनमा भावना आयो । कृष्णप्रसाद भट्टराई (सन्तनेता) माथिको ठूलो धोखा र विश्वासघात देखेर भेटेर छक्क परेँ । बौद्धिकताको त्यो हदसम्म हुर्मत खोटो सोच, समझ, नियत पुष्टि र प्रमाणित हुँदा व्यक्ति गौण भएर राष्ट्रिय दुर्भाग्यको बौद्धिक हालत चिन्ता र चिन्तनको विषय हुन जान्छ ।
दुवैतर्फ (सरकार र माओवादी) का वार्ता टोलीका समक्ष वार्ताको सर्त प्रष्ट छर्लङ्ग थियो । ‘या त माओवादी ०४७ को संविधान भित्र आउन तयार हुनुपर्यो या संसदवादी नयाँ संविधानका लागि तयार हुनुपर्यो’ । होइन भने लड्ने, भिड्ने, हार्ने, जित्ने वार्तामा प्रवेश गर्न योभन्दा अर्को विकल्प नभएको प्रष्ट थियो । वार्ता प्रारम्भ भयो । लाखौलाख सरकारी ढुकुटी रित्याएर पाँचतारे होटलमा दुबोको मालाले बेहुला झैँ सजिएर कथित गोष्ठीको माइक फुक्नमा घाँटीका नशा फुलाइरहेका समाचारको बाढी आयो । आज सोल्टीमा, भोली अन्नपूर्णमा गोष्ठीको मिठाइमा पत्रकारजगतको चहल पहल सिकारु पत्रकारजगतलाई त दशै आएजस्तै भएको थियो । माओवादी समस्या समाधान होला कि भन्ने आशामा आम जनसमुदायले पनि वार्ताको परिणामलाई उत्सुकता पूर्वक पर्खेका थिए । होचोकदका दमननाथ ढुंगाना बेहुलाझै दुबोको मालाले सजिँदा पद्मरत्नभन्दा भव्य देखिन्थ्ये । तर वार्तामा प्रवेशको मूल विषय ०४७ को संविधानको भित्र र बाहिर भन्ने प्रश्नमा भने ढुंगानाको मुखमा ताला लगाइएको थियो । एक शब्द चूसम्म गरेर इशारा मात्र गर्ने पनि हर्कत देखाएनन् । ढुंगाना जत्तिको बौद्धिक वकिलमा यत्ति सामान्य ज्ञान नहुने भन्ने त थिएन । फेरि कस्ले उनको मुखमा ताला लगाएको थियो, मलाइ एकप्रकारले निन्दा, घृणा, वाकवाकी जस्तो भयो । त्यसपछि १० वर्षको परिणामबाट सबै छर्लङ्ग भयो कि त्यो ढुंगानालाई बेहुलाझै सजाएर तामझाम प्रदर्शन गरेका त माओवादी हिंसालाई १२बुँदे दिल्लीसम्म पुर्याएर राजसंस्था सिध्याउने सोनिया सत्ता (नेहरू डक्ट्रिन) गुप्तचर संस्था ‘रअ’ को कारिन्दा पो भएका रहेछन् । दमन ढुंगानाको यस्तो राष्ट्रघाती विशवासघात देखेर झेलेर आखिर दिग्दार भएर भट्टराईजीले सम्पूर्ण जीन्दगी अर्पित गरेको पार्टी कांग्रेस (१४वर्ष जेल, १८ वर्ष सभापति) छोडेको त्यागेको घोषणा गर्नुभयो ।
डा. सुन्दरमणि दिक्षित : ‘ब्रह्मले देखेको लेख्ने बोल्ने तर विषयगत उताको सामाजिक द्वन्द/सम्झौता विषयक ज्ञान दूरदर्शिता शून्य बालक’ स्थापित बौद्धिकताको उदाहरणमा डा.सुन्दरमणि दिक्षितको नाम अघि सार्छु । यद्यपि मेरो दमन ढुंगानासँग जति हिमचिम बस्उठ् होइन । डाक्टर साहेबलाई चिन्ने जान्ने क्रममा मेरा हकमा अलिकति भावुक कुरा पनि छन् । यदि म डा.सुन्दरमणिको उपचारमा पुग्न चारमहिना मात्र ढिलो भएको भए आज म बाँचेको हुन्न थिएँ । उहाँलाई यो जानकारी छैन । एक जाँचभेट २० वर्षसम्म सम्झना हुने कुरो भएन । एकतर्फी आदरभाव (जीवनदाता) सम्मान थियो भन्दा पनि हुन्छ । कालक्रममा सत्य साइबाबाको अत्यन्त कृपापात्र भक्त हुनुहुँदोरहेछ भन्ने थाहा पाउँदा आदरभावमा थप वृद्धि भएको थियो । ‘विदेशी शक्तिले एनजीओमार्फत राष्ट्रिय राजनीतिलाई गिजोलेर क्षेत्रीय, जातीय, धार्मिक द्वन्दमा नेपाललाई धकेलेर अराजकताको मलजल भइरहेको छ । सम्पूर्ण एनजीओहरू नागरिक समाज आदि इत्यादि र कर्मचारी युनियन तत्काल खारेज भएर राष्ट्रिय स्वामित्वमा आउनुपर्छ’ भन्ने प्रस्ताव गरिएको मेरो एउटा मोटो पुस्तक ‘फेरि यस्तो नहोस्’ मसिना अक्षर तीन सय पृष्ठ (वि.सं.२०६४) बजारमा आएको थियो । ‘रत्न पुस्तक भण्डार’ वितरक रहेको त्यो पुस्तक डा.साहेबको हातमा पुगेछ र पढेर ‘नागरिक समाज अगुवाको नामका एनजीओ हरू राष्ट्रिय धर्म, संस्कृति, संस्कार, भाषा, भेषभूषा र राष्ट्रको गौरवपूर्ण लिगेसी मासेर भाँडभैलो मच्चाएर देश सिध्याउने डलरखेती फस्टाइरहेको’ भन्ने तथ्य प्रमाणसहित अध्ययन पद्धति धेरै मन परेर आफैं अघि सरेर भेट गर्ने प्रस्ताव गर्नुभयो । उहाँलाई थाहा नभएको मेरो जीवनदाताले आफैं अप्रत्याशित कल्पना पनि नभएको आपसी भलाकुसारीको अवसर जुर्न मेरा हकमा धेरै हर्षको कुरो थियो । ‘नागरिक समाजबारे तपाईंले जे लेख्नुभएको छ मेरै कुरो लेख्नुभएको जस्तो असाध्यै प्रभावित भएको छु’ भन्नुभयो । हिड्ने बेलामा तपाईंहरूजस्ता पवित्र भावना लिएर राजनीतिमा लाग्नुभएकालाई सकेको सहयोग गर्न पाउँदा स्वान्त सुखाय जस्तो मनमा भावना आउँछ भन्दै पहिलो भेटको आधाघण्टा कुराकानीमै एकलाख रुपैया गोजीमा हालिदिनु भयो । यसरी हाम्रो भलाकुसारी विस्तारै विस्तारै गहिरो सम्बन्ध विकसित हुँदै गयो । बौद्धिकताको एउटा हाइट र प्रवृत्ति अध्ययन गर्ने मापन अवसर पनि जुरेको भन्नुपर्यो ।
यस्तैमा उहाँको ‘अनुभव वृतान्त’ शैलीको दुई तीनसय पृष्ठको उहाँको नामको पुस्तक मैले प्रस्तुति गरिदिने कुरो उठ्यो । नयन बहादुर खत्री, कुवेर शर्मा आदि इत्यादि टाइपका आधादर्जन बढी पुस्तक प्रस्तुतिको मसँग अनुभव अध्ययन पद्धति थियो । पहिलो किस्ता ७५ हजार लिएर काम थालेर एक चौथाइ पाण्डुलिपी तयार पनि गरिसकेको थिएँ । बढीमा एकवर्षको समय लिएको थिएँ । प्रचण्डको अध्यायमा आइपुगेपछि म झसङ्ग भएँ । त्यसबखत उहाँ प्रचण्डको यति धेरै उग्र समर्थन हुनुहुन्थ्यो कि सम्पूर्ण त्यो वर्गीय सर्कलसमेत छक्क परेका थिए । सुन्दरमणि यति धेरै माओवादी प्रचण्ड भक्त कसरि हुन सके ? अनुत्तरित थियो । मैले यसो नियालेको डाक्टर साहव सामाजिक द्वन्द–सम्झौता सिद्धान्त राजनीतिक इतिहास चेतमा वालक इन्नोसेन्ट मैले थाहा पाइहालें । जुनदिन प्रचण्डले गिरिजा प्रसाद कोइरालाको हातबाट टिका थापेर सांसद भए त्यसैदिन श्रीलंकाका प्रभाकरण भइसके । अहिलेका प्रचण्ड प्राण गएको लासझैँ विचार हराएको दलिय नेतृत्व समयमै अन्त्येष्ठी हुन नसक्दा कुहिएर, गन्हाएर, रोग फैलाउने चरणमा पुगेर झन् ठूलो समस्या हुनेछन् भन्ने इतिहास चेतमा बालक डा.साहबलाई सम्झाउन असम्भव हुँदा धर्मसंकट उत्पन्न भयो । मनमनै विचार लिएँ कि राष्ट्रका अन्तरराष्ट्रिय स्तरमा समेत ख्याति कमाएका डाक्टर भलाद्मी इमान्दार राष्ट्रिय आभूषणसंग तुलनीय व्यक्तिको पुस्तक १० वर्ष पुग्दा नपुग्दा जीवनमा कहिले नमेटिने कालोदाग, थकथकी र पश्चाताप हुँदा पनि नमेटिने अवगाल प्रस्तुत गरिदिनु आफैंमाथि अपराध ठानेर भागेँ । भन्नुपर्यो डा.सुन्दरमणिले ज्यान जोगाएर लगाएको गुण इज्जत जोगाएर तिरेको छु ।
तात्पर्य राजनीतिक सामाजिक कुनै पनि प्रगति उन्नति बाटो खोज्दा मुलुकको मौजुद हालतको चेतना, जागरण, बौद्धिकस्तर मापन भएर कदम चाल्नु अनिवार्य हुन जान्छ । अस्तु ।