काठमाडौं । सामाजिक सञ्जालमार्फत चन्दा संकलन र चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई पूर्णत निषेध गर्न माग गरिएको छ । चिल्ड्रेन भिजन नेपाल नामक संस्थाले निर्वाचन आयोग समक्ष उक्त माग गरेको हो । चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालले बुधबार निर्वाचन आयोगसँग लिखित रुपमै उक्त माग गरेका हुन् ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाइएको ज्ञापनपत्रमा अध्यक्ष सिलवालले सामाजिक सञ्जालमार्फत फोटो, व्यक्तिगत बैंक विवरण तथा क्यूआर कोड सार्वजनिक गर्दै चन्दा संकलन गर्ने बढ्दो अभ्यासप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् ।
सिलवालले निर्वाचनको नाममा भइरहेको यस्तो गतिविधि सतहमा डिजिटल आधुनिकता जस्तो देखिए पनि दीर्घकालीन रूपमा लोकतन्त्र, राजनीतिक नैतिकता र जनविश्वासका लागि घातक हुन सक्ने बताए ।
ज्ञापनपत्रमा राजनीति सेवा र त्यागमा आधारित हुनुपर्ने भए पनि पछिल्लो समय व्यक्तिगत आर्थिक संकलनको माध्यम बन्दै गएको उल्लेख गर्दै समयमै स्पष्ट नीति, नियम र निगरानी व्यवस्था नहुँदा पैसामुखी राजनीति र डिजिटल दुरुपयोग बढ्ने चेतावनी दिइएको छ । अध्यक्ष सिलवालले सामाजिक सञ्जाल प्रयोग गरी गरिने चुनावी प्रचार, चन्दा संकलन तथा क्यूआर कोड र बैंक विवरण सार्वजनिक गर्ने कार्यबारे स्पष्ट मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्न पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
यसैगरी, अध्यक्ष सिलवालले चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग भइरहेको विषयमा पनि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय जुलुसमा सहभागी गराउने, नारा लगाउन बाध्य पार्ने, प्रचार सामग्री बोकाउने तथा भिडियो र सामाजिक सञ्जाल सामग्रीमा बालबालिकालाई प्रयोग गर्ने घटनाहरू सार्वजनिक भइरहेकामा उनले गहिरो चिन्ता व्यक्त गरेका छन् । ‘बालबालिका कुनै दल वा राजनीतिक स्वार्थका साधन होइनन्, उनीहरू राष्ट्रको भविष्य हुन्,’ ज्ञापनपत्रमा सिलवालले उल्लेख गरेका छन् । उनले खेल्न र सिक्नुपर्ने उमेरमा बालबालिकालाई राजनीतिक भीडमा उभ्याइनु केवल कानुनी उल्लङ्घन मात्र नभई मानवतामाथिको आघात भएको दाबी गरेका छन् । नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी महासन्धिहरूले बालबालिकालाई राजनीतिक दुरुपयोगबाट जोगाउने स्पष्ट व्यवस्था गरेकाले निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा यस्ता गतिविधि दोहोरिन नदिन निर्वाचन आयोगले कडा निगरानी, स्पष्ट निर्देशन र प्रभावकारी कारबाही गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
अध्यक्ष सिलवालले निर्वाचन आयोग केवल चुनाव गराउने निकाय मात्र नभई लोकतन्त्रको नैतिक संरक्षक भएको उल्लेख गर्दै, समयमै उचित निर्णय र पहलमार्फत स्वस्थ, पारदर्शी र मूल्यआधारित राजनीति निर्माणमा आयोगले नेतृत्वदायी भूमिका खेल्ने विश्वास ज्ञापनपत्रमार्फत व्यक्त गरेका छन् ।