काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाएर भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका सन्र्दभका बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कारबाही गर्ने बताए । मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको उनको भनाइ छ । मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाइ काम गरिरहेको उनले जानकारी दिए । आपराधिक तथा निर्वाचन विरोधी गतिविधिउपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकिएको उनले बताए ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारील निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिए । संविधान, निर्वाचनसम्बन्धी कानुन, निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि एवं क्रियाकलापप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने उनको भनाइ छ । कुनै पनि पक्षबाट हुने दण्डहीनता आयोगलाई मान्य नहुने उनले बताए । छलफलमा निर्वाचन आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । भेटमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गराउन समग्र शान्तिसुरक्षा र निर्वाचनको समय व्यवस्थापनको तयारीका बारेमा पनि छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।